Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

आफ्नो पार्टीका सांसदहरुको अमर्यादित व्यवहारप्रति रवि लामिछाने लज्जित, मागे माफी


काठमाडौं, २५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभा बैठकमा आफ्नो पार्टीका सांसदहरूको केही दिन यताको बहस अमर्यादित भएको भन्दै माफी मागेका छन् । आजको प्रतिनिधिसभा बैठकमा सभापति लामिछानेले विगत केही दिनयता प्रतिनिधिसभामा भएको छलफलबाट आफू लज्जित भएको बताए ।

उनले प्रतिनिधिसभा बैठकमा राँगा र भैँसीको विषयमा गफ गरेर पाँच वर्ष बिताएमा गोबर बाहेक केही पनि नपाइने बताए । उनले सो विषयमा गरेको गफप्रति आफू आत्मआलोचित भएको बताए । सभापति लामिछानेले बजेटको विषयमा कुराकानी गरिरहँदा यस्तो विषय बैठकमा उठ्नुले सर्वसाधारणमा राम्रो सन्देश नगएको भन्दै आफ्नो भागमा पर्ने दोषप्रति आफू जिम्मेवार भएको र क्षमा याचना गर्ने बताए ।

सभापति लामिछानेले हचुवाको भरमा बजेट निर्माण भएको टिप्पणी गरे । उनले बजेट राजस्वमा आधारित भएको भन्दै कार्यान्वयनमा आशंका गरे । उनले गोरखा, नुवाकोट र डडेल्धुरामा मात्रै विकास बजेट गएको समाचारहरू बाहिरिएको भन्दै यस सम्बन्धमा अर्थमन्त्रीको जवाफको माग गरे ।

उनले बजेटमा विदेशमा भएका नेपालीलाई मताधिकार दिने विषय नपरेकोमा असन्तुष्टि व्यक्त गरे । सभापति लामिछानेले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय सच्याउन माग गरे । त्यसैगरी उनले आगामी दिनमा बजेट बन्नुभन्दा पाँच महिनाअगाडि नै शिक्षा र स्वास्थ्य नीति कस्तो बनाउने भन्ने सम्बन्धमा बृहत छलफल गरेर साझा अवधारणा बनाउनुपर्नेमा जोड दिए । त्यस्तै आफूहरू जन्मसिद्ध नागरिकले नागरिकता पाउनुपर्छ भन्ने पक्षमा रहेको उल्लेख गर्दै नागरिकता विधेयक संसदमा छलफल हुनुपर्ने र आफूहरू छलफलमा भाग लिन पाउनुपर्ने पक्षमा रहेको उनले बताए ।


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #rabi lamichhane

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट