Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

महिलालाई सेनामा ३३ प्रतिशत पुर्‍याउन बल नगर्नुस्, लड्ने काम पुरुषहरूलाई नै अलिक बढी दिए हुन्छः केपी ओली


काठमाडौं, ३० जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महिलालाई नेपाली सेना र नेपाल प्रहरीमा भन्दा सेवामूलक क्षेत्रमा ध्यान दिन आग्रह गरेका छन्।

नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सेना र प्रहरीमा ३३ प्रतिशत अधिकार नखोज्न आग्रह गर्दै डाक्टर, प्रोफेसर, टिचर, इन्जिनियरमा वर्चश्व कायम गर्न महिलाहरूलाई आग्रह गरेका हुन्।

‘सेनामा ३३ प्रतिशत पुर्‍याउन बल नगर्नुस्। लड्ने काम पुरुषहरूलाई नै अलिक बढी दिए पनि हुन्छ केही छैन। तर, डाक्टर हुन किन ३३ प्रतिशत? तपाईंहरू ८० प्रतिशत महिला डाक्टर हुनुपर्छ। त्यता पट्टी लाग्नूस्। ७० प्रतिशत इन्ज्ञिनियर र ९० प्रतिशत महिला प्रोफेसर हुनुस् न। घरमा पनि बच्चालाई माया गर्न जानेको हुन्छ। माया गरेर सम्झाउन जानेको हुन्छ। विद्यालय गएर मात्रै शिक्षिका भएका होइनन् महिलाहरू घरैदेखि शिक्षिका भएका हुन्छन्,’ उनले भने, ‘ अलिक बढी जोड दिने कुरा प्रहरीमा ३३ प्रतिशत वा ५० प्रतिशत चाहिन्छ भन्ने। सेना र प्रहरीमा थोरै प्रतिशत भए पनि केही छैन। धेरै सुरिनुपर्ने आवश्यकता पनि छैन। मान्छेले उचालिदिएका भरमा उचालिएर हामी पनि के कम छौँ भनेर त्यो जरुरी छैन।’

अध्यक्ष ओलीले डाक्टर प्रोफेसर, टिचर, इन्जिनियर, नर्समा अहिले महिलाको एकाधिकार रहेको दाबी गरे। उनले नर्समा एकाधिकार छ भने डाक्टरमा किन एकाधिकार नहुने ? भन्दै महिलाहरूमाथि नै प्रश्न गरे।

‘अहिले नर्स भन्नेबित्तिकै पुरुष भनेर सम्झिँदै सम्झिँदैन। डाक्टर भन्नेबित्तिकै महिला सम्झाइदिऊँ न। निरपेक्ष प्रतिशतको कुरा होइन, सार्थक प्रतिशतको अधिकारमा बराबर दिमाग बढी तेज किन नहुने ?उचाइ मोटाइतिर ध्यान दिने होइन ब्रेनतिर ध्यान दिने,’ उनले भने।


क्याटेगोरी : राजनीति
ट्याग : #kp oli

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट