Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

कांग्रेसको आन्तरिक राजनीतिमा एक्लिदै गगन थापा


काठमाडौं । विद्यार्थी राजनीतिदेखि नै कोही न कोही नेताहरुको काँधमा चढेर आफ्नो स्वार्थ पूरा गरेपछि गुट बदल्दै हिडेका कांग्रेस महामन्त्री गगन थापा पछिल्लो समय भने एक्लिदै गएका छन् । पार्टीको १४ औं महाधिवेशनमा डा. शेखर कोइरालाको समूहबाट महामन्त्री निर्वाचित गगनले पार्टीको संसदीय दलको निर्वाचनका बेलामा नै कोइरालाको साथ छोडे । कोइरालाको साथ छोडेर अर्को महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेलसँग लहसिएका थिए । तर, पछिल्लो समय विश्व र प्रदीपले पनि साथ छोडेपछि एक्लो बन्दै गएका छन् ।

विश्वप्रकाश र प्रदीप पौडेलको बलमा संसदीय दलको निर्वाचनमा डा. शेखरलाई पाखा लगाएर आफै नेता बन्ने अभियानमा रहेका गगन थापा पछिल्लो समय विश्वप्रकाश शर्माले साथ छाड्ने संकेत देखाएपछि अत्तालिएका पनि उनका अभिब्यक्तिले देखाएको छ । गगन र विश्व पछिल्लो समय एउटै मञ्चमा पछि देखिएका छैनन् । त्यो मात्रै नभएर विश्व र गगनका मुद्दा पनि फरक देखिएका छन् । गगन रेशम चौधरीलाई आममाफी दिने निर्णय र नागरिकता विधेयकको विरोधमा देखिएका छन् । तर, विश्व यसको विपक्षमा देखिए । विश्वले संसदमा नै नागरिकता विधेयकको पक्षमा बोलेका छन् । तर, गननले अहिलेसम्म नागरिकता विधेयक जस्तो राष्ट्रिय महत्व बोकेको विषयमा संसदमा बोल्न सकेका छैनन् ।

त्यस्तै विश्व र प्रदीपले मात्र होइन अहिले गगनलाई संसदीय दलको निर्वाचनमा डा. शेखरलाई भन्दा अप्रत्यक्ष रुपमा गगनलाई नै सहयोग पु¥याएका सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार पनि अहिले गगनसँग भन्दा डा शेखर कोइरालासँग नै निकट देखिएका छन् । उनीहरु संसदीय दलको चुनावपछि गगन–विश्वका बीचमा सहकार्य भएपछि डा. शेखर भन्दा गगन विश्वको समूह ठूलो बन्ने हो कि भन्ने कारणले उनीहरुसँग बढी भरोसा राख्न लागेका बद्री र जीवन पनि अहिले फेरि गगनसँग भन्दा डा. शेखर कोइरालासँग नै बढी भरोसा राख्न थालेका छन् ।

यति मात्र नभएर गगनको व्यवहारका कारण गगन नेपाल विद्यार्थी संघको महामन्त्री भएको समयमा नेपाल विद्यार्थी संघका अध्यक्ष रहेका गुरुराज घिमिरे, कांग्रेस उपसभापति धनराज गुरुङ र डा शेखर कोइरालाको समूहबाट उपसभापतिका उमेदवार बनेका नेता चन्द्र भण्डारीको समेत गगनप्रति सहानुभूति नरहेको बताइएको छ ।

गुरुराज घिमिरे आफू निकटहरुसँग गगनले पनि पार्टीलाई निकास दिन नसक्ने भन्दै पार्टी रुपान्तरणको अभियान सञ्चालन गरेर देश दौडाहामा छन् । घिमिरेको समूहमा केन्द्रीय सदस्य मधु आचार्य र गोविन्दराज पोखरेल, तरुण दलका पूर्वमहासचिव भूपेन्द्रजंग शाही, नेविसंघका पूर्वअध्यक्ष रञ्जित कर्ण लगायतका नेताहरु छन् । धनराज र चन्द्र भण्डारीले भने संसदीय दलमा डा. शेखरलाई रोकेसँगै गगनको साथ छोडेका हुन् ।

 


क्याटेगोरी : राजनीति
ट्याग : #gagan thapa

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट