Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

वामपन्थी एकताका लागि दबाब दिन सङ्गीत यात्रा, जनवादी कलाकारले छमछमी नचाए


धनगढी, चैत ५ गते । वामपन्थी एकताका लागि दबाब दिन राष्ट्रका लागि सङ्गीत अभियात्रा धनगढीबाट सुरु भएको छ । शनिवार साँझबाट सुरु भएको सो अभियानका क्रममा जनवादी कलाकार जीवन शर्माले धनगढीका दर्शकलाई छमछमी नचाएका थिए ।

सो कार्यक्रममा धनगढी मात्र होइन कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न बस्तीबाट समेत दर्शकहरू ओइरिएका थिए । गायक शर्माले आफ्ना चर्चित गीत रातो लालटिन, फकल्याण्डको टापुबाट, मधेसी, पहाडी, हिमाली हामी सबै नेपाली र सिमली छायामा दर्शकलाई नचाएका थिए । गायक शर्मासँगै नेकपा (एमाले) का स्थायी समिति सदस्य मणि थापा लगायत पनि नाचेका थिए ।

धनगढीका वाम विश्लेषक डिल्लीराज जोशीले वामपन्थीहरूले आफ्नो मूल बाटो बिर्सेका बेला यस्ता जनवादी सांस्कृतिक गीतले सही बाटोमा लैजाने जोशीले दाबी गरे । गायक शर्माले पनि जब आन्दोलनले बाटो बिराउँछ अनि जनवादी गीत सङ्गीत चाहिन्छ त्यसले वाम एकताका लागि मद्दत पुग्ने विश्वास व्यक्त गरे । आन्दोलनले बाटो बिराएका बेला… रातो लालटिन… गीत गाउनुपर्छ भन्ने उनको भनाई थियो ।

सो यात्रामा नेकपा ृएमाले, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, नेकपा (मसाल) सहितका प्राय सबै वामपन्थी दलसँग निकट २२ कलाकारको सहभागिता छ । सो टोलीमा रहेका कलाकारहरुले आफ्ना विभिन्न प्रस्तुति दिएका थिए ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य ओमप्रकाश पुनले सङ्गीत अभियात्राले विचार विहीनताको अन्त्य, राष्ट्रियताको जागरण र विभाजित वामपन्थीहरूलाई एकताबद्ध बनाउन दबाब दिने धारणा राखे ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता डवल शाहका अनुसार सो कार्यक्रम चैत ७ गते सुर्खेत, चैत १० गते दाङ, चैत १३ गते बुटवल, चैत १६ गते भरतपुर, चैत १८ गते हेटौडा, चैत २० गते बर्दिबास, चैत २२ गते धरान, चैत २५ गते बिर्तामोड, चैत २८ गते पोखरा र वैशाख ५ गते काठमाडौँ पुगेर सम्पन्न हुनेछ ।

काठमाडौँको अन्तिम कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा ृएमाले का अध्यक्ष केपी शर्मा ओली, नेकपा ृएकीकृत समाजवादीे का अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, जनमोर्चा नेपालका चित्रबहादुर केसी, मोहन वैद्य किरणलगायतका नेताहरूको सहभागिता हुने नेता शाहले बताए ।


क्याटेगोरी : जनमञ्च, मनोरञ्जन, सुदूरपश्चिम प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट