Techie IT
  • ३२ असार २०८१, सोमबार
Jhilko

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण अर्को अग्नि परीक्षा


प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको मुखैमा आएर भारतले आफ्नो नयाँ संसद भवनको भित्तामा ‘अखण्ड भारत’भन्ने एउटा भित्ते चित्र अंकित गरेको छ । त्यस नयाँ भवनको बिवादास्पद र प्रतिपक्षले बहिष्कार गरेको उद्घाटन प्रधानमन्त्री मोदीले गरेका थिए । त्यस भित्ते चित्रमा नेपालको लुम्बिनी र कपिलवस्तुलाई पनि समावेश र अंकित गरेको छ । जसले नेपालको स्वाभिमान र देशभक्तिमाथि ठुलो चोट पुर्याएको छ । नेपालको सत्तामै रहेका कतिपय घटक र प्रतिपक्षमा रहेका दलहरुले पनि त्यसको बिरोध गरेका छन् । सडक सदन सबैतिर अहिले त्यसको बिरोध भइरहेको छ ।

खासगरी बामपन्थी र कम्युनिष्ट पार्टीहरुले त्यसको बिरोध गरेका छन् । यस गम्भिर र संवेदनशील बिषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण स्थगित या रद्द नै हुनु पर्दछ भन्ने माग उनीहरुले गरिरहेका छन् र यसलाई भारतले सच्याउुन पर्दछ भनिरहेका छन् । उनीहरुले यस बिषयमा प्रचण्डलाई खबरदारी गर्दै नेपालको हित बिपरीत बिगतमा जस्तो यस्ता कुनै सम्झौता या सन्धि नगर्न जोडदार आवाज उठाउन अग्रसर रहेका छन् । यस बिषयलाईसमेत लिएर जेठ १६ गते मण्डलामा राष्ट्रिय क्रान्तिकारी मोर्चाले डेढ घण्टासम्म मण्डला नाराबाजी गर्दै बिरोध जनाएको थियो ।

नेपाल र भारत यद्यपि निटक छिमेकी हुन् । तर सम्वन्ध निकट छिमेकीको जस्तो नभएर भारतको प्रभुत्व र अधीनताविरुद्ध नेपालको अनवरत संघर्षको स्थितिमा रहेको छ । अरु कुरालाई छाडेर भारतको मोदी सरकारकोसमेत स्वीकृतमा बनेको ईपिजी (इमिनेण्ट पर्सन गु्रप)को प्रतिवेदन जसले दुई देशबीचका समस्यालाई उजागर गरेको र समाधानको बाटो पनि देखाउन खोजेको भनिन्थ्यो, त्यो प्रतिबेदन औपचारिकरुपमा बुझ्न समेत भारतका प्रधानमन्त्री तयार देखिँदैनन् । त्यसले गर्दा भारतीय सत्ता नेपालसँग पुरानै बृटिश–भारतकालीन प्रबृत्तिकै आधारमा ब्यवहार गर्न चाहन्छ भन्ने प्रष्ट छ ।

यस स्थितिमा नेपालले भारतसँग प्रस्तुत हुनुपर्ने पुराना नसुल्झेका बिषयहरु कायमै छन् भने नयाँ बिषयहरु पनि उत्पन्न भएका छन् । तर यी सबै कुरा भारतसँग समानस्तरमा र सम्मानकासाथ कुरा उठाउने वातावरण नबनेको आजसम्मको स्थितिमा कुनै चमत्कार होला भन्ने अन्धविश्वास कसैले लिन सक्दैन र लिन पनि हुँदैन । नेपालका अमूल्य श्रोत साधन भारतलाई बुझाउने र रिझाउने जुन नेपाली सत्ता परम्परा छ त्यसको अन्त्य नभएसम्म नेपाल फँस्दै जाने र भारत पस्दै जाने कुरा मात्र दोहोरिन्छ भन्ने कुरा सबैलाई दिउसो मध्य दिनको घाम जत्तिकै छर्लङ्ग छ ।

यस्तो अस्वीकार्य स्थितिमा जस्तो परिवेशमा ठूलो समूह लिएर प्रधामन्त्री प्रचण्ड आज भारतको तीन दिने भ्रमणमा जाँदैछन् त्यसले यो भ्रमण निर्बिघ्न सम्पन्न होला तथा नेपाल र नेपालीको सदासयता, सम्मान र सद्भाव बढाउला भन्ने कुरामा बिश्वास गर्न सकिने कुनै भरपर्दो स्थिति छैन । सन्देहकै कुइरीमण्डलकाबीच हुन लागेको यो उच्चस्तरीय भ्रमणले नेपालको राष्ट्रिय हितमा सकारात्मक परिणाम ल्याउन सक्ने अपेक्षा गर्न अहिलेसम्मको स्थितिले दिँदैन ।

नेपालको प्रधानमन्त्री बनेपछि बिदेश भ्रमणको सुरुवात भारतबाटै गर्नुपर्ने र नगरे अनेक आशंका उब्जने जस्तो मान्यता रहेको सत्तासीनहरु सत्ता सुरक्षाको हिसाबले मात्र यस्ता भ्रमणहरु हुँदै आएको पनि बिगतदेखि बर्तमानसम्म देखिँदै आएको हो । यस क्रममा गएको मंसिरको चुनाव पछि प्रधानमन्त्री बनेका प्रचण्डको यो पहिलो भारत भ्रमण हो । उनले यस क्रममा भारतका राष्ट्रपति, उपराष्ट्रपतिसँग भेट गर्नुका साथै समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्च स्तरीय भेट बार्ता गर्ने छन् । बिगतको कुरा गर्ने हो भने योभन्दा अघिको प्रधानमन्त्रीको कार्यकालमा तीन पटक भारत भ्रमण गरिसकेका हुन् । यो उनको प्रधानमन्त्रीको हैसियतले चौथो भ्रमण हो । हरेक भ्रमणलाई भारतसंँगको शदीयौ. पुरानो बहुयआयामिक ‘सौहाद्र्रपूर्ण’ सम्वन्धलाई सबल तुल्याउने कुरा गर्न छाडिँदैन । तर व्यवहारमा नेपालले त्यस्तो भएको कुनै उल्लेख्य आधार पाउँदैन । यद्यपि प्रकृतिले पनि कतिपय देश–देशको सम्वन्धलाई, सुगम, सहज र सार्थक या कठिन बनाउन सक्ने कुरा पनि हुन्छ । यसले पनि नेपाल–भारत सम्वन्धलाई एउटा आधार दिएको छ । तर त्यो आधारलाई सही दिशामा सही किसिमले सदुपयोग गर्न र दुइ सार्बभौम देशको परस्पर समानतामा आधारित सम्वन्धको बिकास हुन सकेको छैन ।

नेपाल–भारत सम्वन्धलाई चीनको हाउगुजी देखाएर भारतले आफ्नो पक्षमा पार्न खोजेको कुरा प्रायजसो उठाउने गरिएको पाइन्छ । यद्यपि भारत जातियता, धर्म र भूगोलका साथै साझा राजनीतिको अर्थ सधै के लगाउँदै आएको छ भने नेपाल हमेशा भारतको निकट छिमेकी रहेको छ । हिमाली देश नेपाल चीनको तुलनामा भारतमा बन्दरगाहहरु र भारतका बजारमा पुग्ने पहुँच सहज छ भन्ने गर्दछ । तर त्यसमा रहेका भारतीय बाधा अड्चनहरु हटाउन र सहज तुल्याउन भने मद्दत गर्न अनिच्छुक र संकीर्ण देखिन्छ ।

अहिले प्रचण्डको भारत भ्रमण हुने क्रममा उनले सञ्चालन गरेको १० वर्षको सशस्त्र संघर्षको अधिकांश समय भारतमै बिताएको र उनको पहिलो प्रधानमन्त्रित्वको कालमा दुई पटक भारत भ्रमण गरेको पनि भारतले औंल्याउदै गरेको छ । तर प्रचण्डको चीनसँगको कथित निकटताका कारणले भारत र नेपालको परस्पर सम्बन्धमा त्यत्ति न्यानोपना रहन नपाएको या कम भएर गएको भनेर पनि भारततर्फ ढल्काउने दवाब पनि दिइरहने गरेको पाइन्छ ।

यसै सम्वन्धमा भारतका एक पत्रकार कपुले भनेका पनि छन् –‘भारतका छिमेकी देशहरु–नेपाल, श्रीलंका, माल्दिभ्स भारतसँग राम्रो समझौता गर्नका लागि चीनसँगको आफ्नो सम्वन्धको लाभ लिन चाहन्छन् । तर भारतसँगको सम्वन्धबाट अलग हुने कुरा सोच्न पनि सक्दैनन् । उनले थप भनेका छन् – ‘प्रचण्डले पनि यो कुरा बुझेका छन् कि उनको र उनको देशको नियति भारतसँग जोडिएको छ, जुन भारतको अमेरिकासँग पनि घनिष्ठ सम्वन्ध छ ।’

भौगोलिक हिसाबले जोडिएको नेपाल र भारतको १८०० किलोमिटरको खुल्ला सीमाना छ । भारतलाई बृटेनको इष्ट इण्डिया कम्पनीले गाँजेको बेला नेपालसँग भएको लडाईमा १८१६ मा भएको सुगौली सन्धिले तय गरेको सीमानामा पनि भारत र नेपालको बीचमा भारतले सबै तथ्यहरुबाट आँखा चिम्लिएर बिबाद निकालेको मात्र छैन कालापानी, लिपुलेकक र लिम्पियाधुरामा त ८ वटा ब्यारेक राखेर कब्जा नै गरेको छ भने कतिपय सीमा क्षेत्रहरु मिचेर राखेको छ । भारतले जम्मु काश्मिरको बिशेष राज्यको दर्जा समाप्त पारेर जुन नयाँ नक्शा २०१९ मा बनायो त्यसबेला नेपालको कालापानी क्षेत्रलाई पनि गाभेकाले उत्पन्न भएको बिवाद अझ चर्किएको छ । यद्यपि गत वर्ष अप्रिलमा नेपालका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउबाले भारत भ्रमण गरेको र त्यसै वर्षको मेमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गरेपछि दुई देशबीच परस्पर भरोसा बढेको पनि भनिन्छ । तर कुनै पनि समस्या हल नगरिकन छोपछाप पारेर राख्दा विश्वास र भरोसा कसरी बढ्छ बुझ्न नसकिने कुरा भएको छ । समस्यालाई यसरी कचल्ट्याएर राख्दा वातावरण मैत्रीपूर्ण र सम्वन्ध प्रगाढ हुने कुरा कूटनीतिज्ञहरुका लागि नसुल्झने पहेलीको कुरा मात्र ठहरिन्छ भन्ने बुझ्नु जरुरी छ ।

 

 


क्याटेगोरी : जनमञ्च, बिचार, राजनीति
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट