Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

इलाम कारागारभित्र जाँड–रक्सी खाँदै जुवातास खेलेको भिडियो सार्वजनिक भएपछि …


इलाम, १७ फागुन । इलाम कारागारभित्र जाँड–रक्सी खाँदै जुवातास खेलेको भिडियो सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय इलामले छानबिन सुरु गरेको छ ।

समिति नै गठन गरेर छानबिन सुरु गरिएको हो । सञ्चारमाध्यममा कैदीहरूले कारागारभित्र नै जाँड–रक्सी खाँदै गरेको भिडियो सार्वजनिक भएपछि तीन सदस्यीय समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयका अधिकृत हरिकुमार थापाको संयोजकत्वमा समिति गठन भएको हो ।

यो समितिले काम थालिसकेको संयोजक थापाले बताए । भिडियो कहिलेको हो र को–को व्यक्ति यसमा संलग्न थिए भन्ने विषयमा छानबिन हुने साथै आवश्यक कारबाही अगाडि बढाइने बताइएको छ ।

कानुनले वर्जित गरेका कुनै पनि गतिविधि, जाँड–रक्सी खान, जुवातास तथा मोबाइल फोनसमेत प्रयोग गर्न नपाइने भए पनि कारागारभित्र खुलेआम यी काम भइरहेको भिडियो बाहिरिएको हो । इलाम कारागारमा भने जाँड–रक्सी खाने, जुवातास तथा मोबाइल फोनसमेतको प्रयोग हुने गरेको र यसमा कर्मचारीको समेत संलग्नता रहेको शङ्का गरिएको छ ।

जेलर सुमित मगरले सार्वजनिक भिडियो कारागारभित्रकै रहेको स्वीकार गरे । उनले यो दृश्य इलाम कारागारकै रहेको र त्यहाँ देखिएका केही कैदीबन्दी अहिले पनि यही रहेको तथा केही छुटेका र सरुवा भएर गइसकेका बताए । कारागारको क्षमता एक सय २५ जनाको भए पनि अहिले यहाँ दुई सय ८० जना छन् ।


क्याटेगोरी : समाचार, कोशी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट