Techie IT
  • ४ वैशाख २०८१, मंगलबार
Jhilko

पहाडी क्षेत्रमा आज फागु पर्व मनाइँदै


काठमाडौं । आज पहाडी र हिमाली क्षेत्रमा फागु अर्थात् होली पर्व उल्लासका साथ मनाइँदै छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवम् सामाजिक एकताको पर्वका रुपमा फागु पर्व मनाउने प्रचलन छ ।

फागु पर्वमा एक आपसमा विभिन्न रङ्ग तथा अबिर लगाएर मनाउने चलन छ । केही वर्षदेखि रङको पर्व होली सभ्य बन्दै गएको छ । केही वर्षअघिसम्म एक हप्ता अघिदेखि नै लोला हान्ने प्रवृत्ति थियो । तर, चार पाँच वर्षयता फागु पर्वलाई अनुशासित भएर मनाउने गरिएको पाइन्छ ।

सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द भएको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा मनाइन्छ ।

फागु पर्वको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीका साथै राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना दिनुभएको छ । पर्वले विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिहरुलाई निर्मूल गर्दै मौलिक संस्कृतिहरुको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गर्ने शुभकामना सन्देशमा भनिएको छ । होली पर्वका अवसरमा आज सार्वजनिक बिदा दिइएको छ । यसैबीच, प्रहरीले होली सभ्य तरिकाले मनाउन अनुरोध गरेको छ ।

होहल्ला नगरि, जाँडरक्सी तथा लागुपदार्थ नखाइ एकआपसमा रमाएर होली मनाउन प्रहरीले अनुरोध गरेको हो । अभद्र तरिकाले होली खेलिएको पाइए कारबाही हुनेछ । यस्तै, कसैले इच्छा विपरीत रङ लगाए, लोला हाने वा फोहर पानी र विभिन्न केमिकल मिसिएको पदार्थ लगाइदिए तुरुन्त प्रहरीको १०० नम्बरमा फोन गरेर जानकारी दिन आग्रह गरिएको छ ।

इच्छा विपरीत रङ वा लोला हाने पक्राउ गरेर मुद्दा चलाइने प्रहरी ले जनाएको छ । यसैगरी होलीलाई लक्षित गरी आज ठाउँठाउँमा चेकपोइन्टहरु राखिँदैछ । मोबाइल गस्ती बढाइने छ भने सादा पोसाकमा समेत प्रहरी खटिने छन् ।

ट्राफिक प्रहरीसँगको सहकार्यमा सुरक्षा जाँचलाई कडाइ गरिने भएको छ । मोटरसाइकल चलाउँदा हेलमेट अनिवार्य लगाउन, तीन जना नचढ्न र जाँडरक्सी वा लागुपदार्थ खाएर गाडी नचलाउन प्रहरीले आग्रह गरेको छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट