Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

खरिद ऐन मिच्दै महाप्रबन्धक झा, नियुक्ति भएको एकैवर्षमा डिडिसी डुबाउने प्रपञ्च


  • डिल्लीराम भट्टराई

आर्थिक वर्ष ०७५/०७६ मा घाटाको अनुपात ६ करोडमा झरेको थियो भने ०७७ मा आएर घाटा १४ करोड पुग्न गयो । फेरि त्यो अनुपात ७८ मा १० करोडमा सीमित रहेको थियो । तर जब झा दुग्घ विकास संस्थानको महाप्रबन्धक भएर आए अहिले डिडिसी ३४ करोड घाटाको भार बोकेर अगाडि बढिरहेको छ । उनको कार्यकालमा यो घाटा दर ६० करोड पुग्ने अनुमान गर्न सकिन्छ ।

काठमाडौं । विसं. २०६९ साल मंसीरमा तत्कालीन महाप्रबन्धक सियाराम प्रसाद सिंहको बाहुलीबाट दुग्ध विकास संस्थानको सातौँ तहमा जागीरे भएका सन्जीव झा अहिले सोही संस्थामा महाप्रबन्धक छन् । दुईवर्षे कार्यकालका लागि गतवर्षको चैत्रमा डिडिसीको जनरल म्यानेजर अर्थात् महाप्रबन्धक भएका झा एकैपटक करोडपति बन्ने शूरमा आफ्नो आमा संस्थालाई दाउमा राखेर पैसा कमाउन तल्लीन छन् । स्रोतका अनुसार ०७०/७१ मा डिडिसीको घाटा १५ करोड थियो, यो अवस्था ०७२ मा आउँदा ५ करोड नाफामा परिणत भयो । त्यस्तै ०७३ मा आएर संस्थाले १६ करोड मुनाफा गर्न सफल भयो भने त्यो अनुपात ०७४ मा गएर २१ करोड घाटामा संस्था फस्न पुग्यो । आर्थिक वर्ष ०७५/०७६ मा घाटाको अनुपात ६ करोडमा झरेको थियो भने ०७७ मा आएर घाटा १४ करोड पुग्न गयो । फेरि त्यो अनुपात ७८ मा १० करोडमा सीमित रहेको थियो । तर जब झा दुग्घ विकास संस्थानको महाप्रबन्धक भएर आए अहिले डिडिसी ३४ करोड घाटाको भार बोकेर अगाडि बढिरहेको छ । उनको कार्यकालमा यो घाटा दर ६० करोड पुग्ने अनुमान गर्न सकिन्छ ।

स्रोतका अनुसार उनीसँग महाप्रबन्धकको लागि १० वर्षको अनुभव मागिएको थियो, तर झाले ‘म्याक्स एड्भर्टाइजर‘ भन्ने संस्थामा काम गरेको नक्कली सर्टिफिकेट बुझाउँदै तत्कालीन कृषिमन्त्री महेन्द्रराय यादवको टोलीलाई भारी रकम बुझाएर डिडिसीको महाप्रबन्धकमा आफ्नो नियुक्ति लिन सफल भए । त्यसो त जब जोकोही डिडिसीमा छिर्छ, केही कर्मचारीहरु क्यान्टिन बाहिर भीड लागेर बसेका हुन्छन् भने अरु आफ्नो कुर्सीमा भेटिँदैनन् । एबिसी (परिवर्तित नाम) नाम भएका सहायकस्तरका एक कर्मचारीले भने, “झा आएदेखि संस्थानमा बेथितिको चाङ नै शुरु भयो । पुसको तलब माघको २२ गते खाइयो, अब माघको फागुन या चैत्रको कति गते पुग्ने हो थाहा छैन ।“

संस्थानमा माथि उल्लेख गरिएको घाटा अनुपात बढेको मात्रै होइन विगतको तुलनामा दूध संकलन तथा विक्री पनि घट्दै गएको छ । कहाँसम्म भने उनले किसानबाट लिनुपर्ने दूध अहिले व्यवसायीबाट संकलन गर्न थालेका छन् । त्यसो हुँदा दूध उत्पादन गर्ने किसानले लाभ लिन सक्दैनन्, भोलिका दिनमा डिडिसीलाई किसानले उत्पादन गरेको दूध नदिन पनि सक्छन् । तथ्यांकअनुसार आर्थिक वर्ष ०७०/७१ मा यो संस्थाले ५ सय ९० लाख लिटर दूध प्रतिदिन संकलन गर्दथ्यो र सोहीअनुपातमा विक्रीवितरण हुन्थ्यो । यो अनुपात ०७२ मा आउँदा ६ सय ३ लाख, ०७३ मा ५ सय ३३, ०७४ मा ५ सय ३२, ०७५ मा ५ सय ४१, ०७६ मा ४ सय ९८, ०७७ मा ४ सय ९२, ०७८ मा ४ सय ७० हुँदै झा महाप्रबन्धक भएको वर्ष ०७९ मा आएर ३ सय ३७ लाख लिटरमा झरेको छ ।

डिडिसी अहिले संस्थानहरुमध्येकै सबैभन्दा बढी घाटा ब्याहोर्ने संस्था बन्दै छ । त्यसको मुख्य कारण महाप्रबन्धक झा नै हुन् । आयोजना प्रमुखहरु लैजाँदा उनीहरुसँग स्पष्ट योजना र प्रस्तावहरु माग्नुपर्ने नेपाल सरकारको नीतिविपरित डिडिसीमा त्यसको ठीक विपरित हुन्छ । यहाँ त झासँग जसले व्यक्तिगत सम्बन्ध राम्रो राख्छ, ऊ कनिष्ट भएपनि आयोजना प्रमुख भएर फिल्ड पुग्छ, वरिष्ट हेरेको हेर्यै हुन्छ । केही समयअघि महाप्रबन्धक झाले संस्थाको विनियम मिचेर पुष्पमणि भट्टलाई प्रशासन प्रमुख बनाएका छन् । उनको हर्कत यति मात्रै होइन, नेपालमा हाल पाउडर दूध भित्राउन पाइँदैन । तर यहाँ कस्तो भयो भने केही समयअघि खरीद ऐन विपरित नै टेण्डर प्रक्रियाअगावै २० मेट्रिक टन पाउडर दूध डिडिसीमा भित्राइयो । पछि टेण्डर गरेर त्यसको भुक्तानी भयो । झा त संस्थानको गाडी ठेकेदारलाई दिएर ठेकेदारको सामान डिडिसीमा भित्राउँछन् ।

“माउ संस्थालाई माया त परैजाओस्, आफू जसरीतसरी दुईवर्ष टिकिराख्ने, त्यसपछि डिडिसी भाँडमै जाओस्, उनलाई कुनै मतलब छैन“ एबिसी नामका कर्मचारीले दुखेसो पोखे ।
झा कुनै पनि हालतमा आफ्नो माउ संस्था डुबाएर मात्रै जान्छन् भन्ने अर्को उदाहरण पनि छ । त्यो के भने उनी महाप्रबन्धक भएपछि विसं. २०७९ साल भदौमा अर्गनाइजेसन एण्ड म्यानेजमेन्ट ‘ओएण्डएम‘ गर्ने भन्दै डिडिसीको सञ्चालक समिति बैठक बस्यो । बैठकले सोही दिन निर्णय पनि गर्यो, तर त्यसको पत्राचार भने माघको १५ गते भयो । यो जतिको हास्यास्पद र बेबकुफी अरु के हुन सक्छ भन्दै संस्थाकै एक विभागीय प्रमुखले नाम नछापाउने शर्तमा भने, “अब कर्मचारी झाका विरुद्ध उठौँ संस्था थिलथिलो भइस्क्यो, अरुले के भन्लान् भन्ने डर, नउठौँ झाको उपद्रो यति बढी सक्यो कि कर्मचारी कन्पारो तताएर बस्नुपर्ने बाध्यता छ । हामी त मुरमुरिएर बस्ने बाहेक अरु गर्न सक्ने अवस्थामै छैनौँ । यहाँ त हेर्दाहेर्दै संस्था डुब्ने भयो ।“

त्यसो त सोभन्दा अघि बसेको सञ्चालक समितिको अर्को बैठकले पारित गरेको बजेटका विषयमा पनि कर्मचारीहरु अनभिज्ञ छन् ।
संस्थामा ब्यापार घट्दा खर्च घटाउनुपर्ने योजना बनाउन नसक्दा पनि यो समस्या आउने गरेको योजना, जनशक्ति तथा बजार व्यवस्थापन विभागका प्रमुख दीपक सुवेदी बताउँछन्् । उनी भन्छन्, “गर्न नसकिने त होइन, तर अहिले आएर संस्थामा योजना नै भएन । पारदर्शिताको कुरै नगरौँ । संस्थामा जब ब्यापार घट्छ, खर्च पनि सोहीअनुपातमा घटाउँदै जानुपर्छ । त्यसका लागि ओएण्डएम पनि त्यतिकै आवश्यक छ । अर्को कुरा दूध संकलन र बिक्रीवितरणलाई प्रभावकारी बनाउन सक्दा पनि संस्था यति धेरै घाटामा जाँदैन । त्यस्तै किसानसँग सरोकार राख्ने संस्थाहरुबीचको समन्वयकारी भूमिकाले पनि धेरै हदसम्म घाटालाई कम गर्न सकिन्छ । सञ्चालक समितिमा जे जे निर्णयहरु हुन्छन्, अक्षरस तिनको कार्यान्वयन गर्दा पनि डिडिसीमा यति धेरै आर्थिक संकट आउँदैन ।“

सुवेदीका अनुसार अहिले संस्थामा स्टक सकिएको छ भने अघिल्लो वर्षदेखि मक्खन छैन, आवश्यकताअनुसार बजारमा घिउ पनि पठाउन सकिएको छैन । कोभिडकालमा ५५ टन घिउ जापान पठाएको संस्थामा अहिले घिउ नहुनु दुखद कुरा हो ।

डिडिसीमा काठमाडौँसहित विराटनगर, जनकपुर, हेटौडा, लुम्बिनी, बुटवल, कोहलपुर, अत्तररियामा रहेका आयोजनाहरुले दूध संकलन तथा विक्रीवितरण गर्ने गर्दछन् । डिडिसीले दूधअन्तर्गत होल मिल्क, काउ मिल्क, टि मिल्क, चीजमा याक चीज, काउ चीज, मोजरेला चीज, स्प्रेड चीज र पनीर, मिठाइहरुमा लालमोहन, रसबरी, पेडा, दहीमा प्रोबाइटिक दही, स्पेशल दही, सुगर फ्रि दही र मोही समेत उत्पादन गर्दछ । किसानको दूध खरीद गर्ने, सहरी उपभोक्तालाई गुणस्तरीय दूध खुवाउने तथा किसान र उपभोक्ताबीच दूधको मूल्य निर्धारण गर्ने मुख्य उद्देश्यका साथ यो संस्था स्थापना भएको हो ।

“तर झाले यस्तो हर्कत गर्न थाले कि अब करीब डिडिसी दूधको मूल्य निर्धारण गर्नसक्ने आफ्नो क्षमता र अधिकारलाई गुमाउँदै गइसक्यो । गुण नियन्त्रणको केसमा पनि अब यो संस्था कमजोेर भइसकेको छ । साथै अब त कस्तोसम्म भयो भने निजी क्षेत्र करीब अब डिडिसीकै हैसियतमा आइसकेका छन्“ झापा स्थायी घर भइ विराटनगरमा फुड टेक्निसियनको जागीर खाँदै आएका काजी बस्नेतले समय सन्दर्भ पाक्षिकलाई बताए ।

“संस्था करीब टाट पल्टिने अवस्थामा पुगिसक्यो । झा दिनभरि मन्त्रालय गएँ भन्छन्, कहाँ जान्छन् थाहा हुँदैन । बेलुकी झुल्किन्छन्, जहिल्यै हतार र हठास मनस्थितिमा हुन्छन् । अब उनीबाट संस्था उँभो लाग्दैन । तत्काल सरकारले हस्तक्षेप गर्दै महाप्रन्बन्धक झालाई बर्खास्त गर्नुपर्छ । नत्र संस्थाले थप क्षति बेहोर्नुपर्ने हुन्छ“ कार्यालयकै क्यान्टिनमा चिया खाँदै गरेका डिडिसीकै एकअर्का कर्मचारीले भने ।

हुन त झा महाप्रबन्धक भएकै दिन समय सन्दर्भ पाक्षिकले उनलाई बधाईसहित सफल कार्यकालको शुभकामना दिएकै हो । केही समयपछि आफ्ना योजनासहित उनको अन्तर्वार्ता लिने प्रस्ताव राख्दा केही समयपछि आफैँ फोन गरेर संस्थाको स्तरोन्नतिको फेहरिस्त बताउने भन्थे झा । करीब चार महिनाअघि पनि उनका विषयमा धेरै टिप्पणीहरु बाहिर आउन थालेपछि पत्रिकाका सम्पादक डिल्लीराम भट्टराईले फोनमार्फत् रिपोर्टिङ्गका लागि समय लिन खोज्दा झाले व्यस्त भएको बताए । यही रिपोर्टिङ्ग गर्दै गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन्, बरु आलटाल गर्दै पछि भन्दै टक्टकिए । आफ्नो जिम्मेवारीबाट भाग्न खोज्ने र ‘संस्थामा समस्या मात्रै छ, उँभो लगाउन सकिँदैन‘ भनेर आलटाल गर्दै आएका झा गैरजिम्मेवारी चरित्रबाट उद्यत छन् भन्ने स्पष्ट हुन्छ ।


क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट