Techie IT
  • ६ जेठ २०८१, आईतबार
Jhilko

राष्ट्रपतिको मासिक तलब र सुविधा कति हुन्छ ?


काठमाडौं, २६ फागुन । बहालवाला राष्ट्रपति र उपराष्ट्रपतिको हकमा पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७४ले त्यसबारे व्यवस्था गरेको छ।

उक्त ऐनले राष्ट्रपति र उपराष्ट्रपतिलाई मासिक पारिश्रमिकदेखि आवास, सवारी तथा इन्धन अनि सञ्चार सुविधाको व्यवस्था गरेको छ। जसअनुसार राष्ट्रपतिले पारिश्रमिकका रूपमा प्रति महिना रु एक लाख ५० हजार ४५० बुझ्ने र पोसाकका लागि वार्षिक रु २५ हजार रुपैयाँको व्यवस्था छ भने उपराष्ट्रपतिको मासिक तलब रु १,०८,०३० छ। उनले वर्षमा २०,००० पोसाक खर्च प्राप्त गर्ने व्यवस्था ऐनले गरेको छ।

बहालवाला राष्ट्रपति र उपराष्ट्रपतिलाई अतिथि सत्कार अनि भइपरि खर्चको सुविधा पनि दिइएको छ। यो कानुन अनुसार राष्ट्रपति र उपराष्ट्रपतिलाई प्रत्येक महिना मासिक पारिश्रमिक बराबरको अतिरिक्त रकम पाउँछन्। यस्तो रकम अतिथि सत्कार तथा भइपरि खर्चबापत दिइने उल्लेख छ।

त्यस्तो खर्चको बिल भरपाई पेस गर्नु पर्दैन। त्यस्तै पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७४ले दैनिक भत्ता अनि बीमाको पनि व्यवस्था पनि गरेको छ।

देशभित्रै भ्रमण गर्दा राष्ट्रपति र उपराष्ट्रपतिले तीन हजार ३०० रुपैयाँका दरले दैनिक भत्ता पाउँछन् भने विदेश भ्रमणका क्रममा दिनको २५० अमेरिकी डलर भत्ता प्राप्त गर्छन्।

युरोपेली राष्ट्रहरू, अस्ट्रेलिया, न्यूजिल्यान्ड, अमेरिका, क्यानडा, कुवेत, कोरिया, जापान, हङकङ, रुस, कतार, जाम्बिया, यूएई, सिङ्गापुर, लेवनान र बहराइनको भ्रमण गर्दा उक्त दरमा ३३ प्रतिशत थप रकम उपलब्ध गराइने कानुनी व्यवस्था छ।

चाडपर्व खर्चबापत उनीहरूले आफ्नो धर्म, संस्कृति र परम्परा अनुसार मनाइने चाडपर्वका लागि आफूले खाइपाइ आएको एक महिनाको पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष प्राप्त गर्ने प्रावधान राखिएको छ।

‘कुरुवालाई पनि भत्ता’

राष्ट्रपति र उपराष्ट्रपतिलाई एक एक जना निजी चिकित्सक पनि उपलब्ध गराइएको छ।

उनीहरूको स्वदेशमा उपचार गराउँदा वा नेपालमा उपचार हुन नसक्ने अवस्थामा विदेशमा उपचार गराउँदा लागेको खर्च सरकारले बेहोर्ने व्यवस्था गरिएको छ।

अस्पतालमा भर्ना भएका बेला कुरुवा बसेबापत तीन जनासम्मको ‘मनासिब खर्च’ पनि सरकारले उपलब्ध गराउने व्यवस्था छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #hot, #rastrapati

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट