Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

गुल्मीमा पासोमा अल्झिएको अवस्थामा चितुवा मृत फेला


गुल्मी । गुल्मीमा पासोमा अल्झिएको अवस्थामा चितुवा मृत फेला परेको छ । छत्रकोट गाउँपालिका २ को मनबागमा आइतबार भाले चितुवा पासोमा अल्झिएको अवस्थामा मृत फेला परेको हो ।

स्थानीय धनबहादुर घर्तीको जग्गामा खर्यान छेउको सडक नजिकै चितुवा फेला परेको हो । चार मिटरभन्दा बढी लम्बाई र ४५ किलो तौल रहेको चितुवा मृत अवस्था फेला परेको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ ।

बिहान पासो चुँडाएर भाग्ने क्रममा घाइते अवस्थामा रहेको चितुवाले आक्रमण गर्दा स्थानीय ४० वर्षीय केशव पालुङ्गे घाइते भएका थिए । स्थानीयले बिहान चितुवा फेला परेको जानकारी दिएपछि डिभिजन वन कार्यालय तम्घासबाट सहायक वन अधिकृत मुना शर्माको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो ।

मृत अवस्थामा भेटिएको चितुवालाई स्थानीय जनप्रतिनिधिहरूको रोहबरमा मुचुल्का गरी डिभिजन वन कार्यालयमा ल्याई कार्यालय परिसरमा खाल्डो खनेर गाडिएको छ ।

गएको वर्ष छत्रकोट गाउँपालिकाको लुम्छामा पनि यसैगरी पासोमा अल्झिएको अवस्थामा चितुवा मृत फेला परेको थियो । केही महिनाअघि पनि गुल्मीदरबार गाउँपालिकामा घाइते अवस्थामा फेला परेको चितुवालाई उद्धार गरी रेसुङ्गा संरक्षित वन क्षेत्रमा लगेर छाडिएको डिभिजन वन कार्यालय गुल्मीका निमित्त डिभिजन वन अधिकृत रामकुमार चौधरीले जानकारी दिए ।

गुल्मीमा पछिल्लो समय चितुवाले मानिस तथा गाईवस्तुलाई आक्रमण गर्ने क्रम बढ्दै जान थालेको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट