Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नेपाल सबैभन्दा कम बचत गर्ने देशमा पर्छ : गभर्नर अधिकारी


काठमाण्डौं, ६ चैत । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल सबैभन्दा कम बचत गर्ने देशमा पर्ने बताएका छन् ।

सोमवार नेपाल राष्ट्र बैंकले आयोजना गरेको विश्वव्यापी मुद्रा सप्ताह–२०२३ उद्घाटन तथा वित्तीय चेतनामूलक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले विश्वका अन्य देशहरूमा भन्दा नेपालमा बचत गर्ने भन्दा पनि सबैभन्दा बढी खर्च गर्ने प्रवृत्ति रहेको बताए । उनले मुद्रालाई बचत गर्न जरुरी रहेको भन्दै बचतबाट नै आम्दानी बढ्ने उल्लेख गरे ।

उनले भने ‘नेपाल सग्रममा कम बचत गर्ने देशमा पर्छ । तथ्याङ्क हेर्ने हो भने हामी सबैभन्दा बढी खर्च गर्छौँ । राष्ट्रिय बचतको अनुपात आधारमा हेर्दा बचतको दर एकदमै कमजोर छ । आम्दानी बचतबाट नै गरिने हो । आम्दानी गर्दा बचत योजनाको छनोट र बैंकमा उपलब्ध सेवा हेर्नुपर्छ । विश्वव्यापी मुद्रा सप्ताह राष्ट्र बैंकले अभियानको रूपमा अगाडि बढाउन गइरहेको छ । एक हप्ता थप सिक्ने र मुद्रालाई सही सदुपयोग गर्ने, जीवनलाई सहज र सुरक्षित बनाउन सहयोग पुर्‍याउनेछ ।’

गभर्नर अधिकारीले शेयरमा लगानी गर्नु पनि बचत भएको भन्दै शेयरमा थोरै लगानीले पनि धेरै आम्दानी गर्नसक्ने बताए । उनले नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा बचत योजनामा १० वर्षमा दोब्बर बन्ने योजना रहेको समेत बताए ।

‘आफ्नो पैसाको योजना बनाउनुहोस्, आफ्नो भविष्य बनाउनुस्’ भन्ने नारासहित सोमवारदेखि ग्लोबल मनी विक–२०२३ सुरु भएको छ । ग्लोबल मनी विकको यो ११ औँ संस्करण हो । नेपाल राष्ट्र बैंकले अभियानको पहिलो दिन उपत्यकामा रहेका विभिन्न कलेजका सयभन्दा बढी विद्यार्थीको सहभागिता रहेको छ । नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग र नेशनल बैंकिङ इन्स्टिच्युट लिमिटेडसँगको सहकार्यमा यो कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल, नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, डेपुटी गभर्नरद्वय डा। नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्र, सहकारी विभागका कायममुकायम रजिस्ट्रार टोलराज उपाध्याय, राष्ट्र बैंकका उच्च अधिकारीलगायतको उपस्थिति छ । चैत १२ गतेसम्म सञ्चालन हुने यस अभियानअन्तर्गत नेपाल राष्ट्र बैंकको संयोजनमा देशभर वित्तीय सचेतना अभिवृद्धिमा सहयोग पुग्ने किसिमका चेतनामूलक कार्यक्रमहरू सञ्चालन हुनेछन् ।


क्याटेगोरी : अर्थ, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट