Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

कैलालीमा ट्र्याक्टर दुर्घटनामा परी दुई जनाको ज्यान गयो, २८ जना घाइते


धनगढी, ७ चैत । कैलालीमा ट्र्याक्टर दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ भने २८ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सुरज चौधरीले चलाएको से १ त ८८७० नम्बरको ट्र्याक्टर गए राति जोशीपुर गाउँपालिका–७ हजारी भन्ने स्थानमा अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा परी भजनी नगरपालिका–९ का १५ वर्षीया चाहना चौधरी र ४६ वर्षीया दिलरानी चौधरीको ज्यान गएको प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए । घोडाघोडी अस्पतालमा उपचारको क्रममा उनीहरूको ज्यान गएको हो ।

बर्दगोरिया गाउँपालिका–६ सुगरखालस्थित आफन्तको घरबाट पास्नी भोज खाएर फर्कि रहेकाहरुलाई बोकेको ट्र्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । भजनीतर्फ आउने क्रममा ट्र्याक्टर दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते भएका भजनी नगरपालिका–९ का कृष्णीदेवी डङ्गौरा, रत्ना चौधरी, आशादेवी डङ्गौरा, विपिन चौधरी, फूलराम चौधरी, हीरा चौधरी, रीता चौधरी, क्षितिज चौधरी, रीया चौधरी, वीरेन्द्र चौधरी, सानु चौधरी, अपेक्षा चौधरी, सविन चौधरीको सुखडस्थित घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ ।

यसै गरी, दुर्घटनामा दोहती डङगौरा, पेपी डङगौरा, ज्योति चौधरी, मगलु चौधरी, मेदी डङ्गौरा, रुपा, मधु, हिमान्सु, रिदिम, अनिता, तुन्नी, आरोही, ओलीचरण र रिवस चौधरी पनि घाइते भएका छन् ।

दुर्घटनापछि ट्र्याक्टर चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट