Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सुपर मादी हाइड्रोपावरको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडियो


कास्की । कास्कीको मादी गाउँपालिकामा निर्माण भएको सुपर मादी हाइड्रोपावरको बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिएको छ । सुपर मादी जलविद्युत् (हाइड्रोपावर) बाट उत्पादित १५ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा शनिवार आजदेखि नियमित जडान भएको हो ।

वर्षायाममा ४४ मेगावाट क्षमताको सुपरमादीले पीपीए अनुसार चैतमा १३ मेगावाट क्षमता भए पनि १५ मेगावाट उत्पादन गरेको सुपर मादी हाइड्रोपावर कम्पनीका अध्यक्ष पुष्पज्योति ढुङ्गानाले बताए । उनले बिहीवारदेखि परीक्षण उत्पादन गरेर पनि आजदेखि नियमित उत्पादन सुरु भएको बताए ।

७ अर्ब ६५ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा १ अर्ब रुपैयाँभन्दा बढी लागत बढेको उनले बताए । कोरोना, युक्रेन युद्धका कारण सामग्रीहरुको मूल्य बढ्नु, बैंकको ब्याजदर बढ्नु र गएको असारमा बाढीले क्षति पुर्याउँदा लागत बढेको बताए।

मादी किनारको कलबन्दीबाट सुरु हुने सुपर मादीको ६ किलोमिटर सुरुङ मार्ग छ भने कमजोर भौगोलिक अवस्थाका कारण करिब ८ सय मिटर पेनस्टक पाइप सुरुङभित्र जडान गरेको उनले बताए ।

भारतबाट प्रतियुनिट १२ रुपैयाँमा अहिले विद्युत् खरिद गर्नु पर्ने अवस्थामा सुपरमादी सञ्चालनले टेवा पुग्ने उनको भनाइ छ । मादीको सोंदामा पावर हाउस रहेको छ । हाइड्रोपावरको काम २०७५ साल मंसिरदेखि सुरु भएको थियो ।

आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको लेखनाथ सबस्टेसनमा जोडिएको छ । विद्युतगृहदेखि माथिल्लो मादीको पावरहाउससम्म करिब ९ किलोमिटर प्रसारण लाइन रहेको छ । सानिमा बैंकको अगुवाइमा कुमारी बैंक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य, एनआईडीसीएल र प्रभु बैंक लगायतको लगानी रहेको छ । लगानीकर्ताले २ अर्ब १० करोड रुपैयाँ लगानी गरेका छन् ।

आयोजनाबाट वार्षिक २४२ दशमलव ६५ गिगावाट घण्टा बिजुली उत्पादन हुनेछ । उत्पादित विद्युत् विद्युतगृहदेखि ९ किलोमिटर दूरीमा रहेको माथिल्लो मादी विद्युतगृह नजिकैको सबस्टेसनमा जोडिएको छ । सबस्टेसनसम्मको आवश्यक ३३ केभी प्रसारण लाइन कम्पनी आफैँले बनाएको हो ।

आयोजनाबाट २०७८ चैतभित्र विद्युत् उत्पादन गर्ने तालिका भए पनि विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी, २०७८ असार १ गते मादी खोलामा आएको बाढीले संरचना नै भत्काएपछि प्रभावित भएको कम्पनीले जनाएको छ ।

 


क्याटेगोरी : अर्थ, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट