Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

विराटनगरमा वैशाख १ गतेदेखि गुट्खा, खैनी र चुरोट खान निषेध


मोरङ । विराटनगर महानगरपालिकाले नयाँ वर्ष वैशाख १ गतेदेखि सार्वजनिक स्थलहरूमा खैनी, चुरोट, पानपराग, गुट्खालगायत खान निषेध गर्ने भएको छ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले यस्तो निर्णय गरेको हो ।

गएको पुस २७ गते बसेको नगरसभाको निर्णयअनुसार महानगर क्षेत्रभित्र धुम्रपानदेखि प्रेसर हर्न बजाउन निषेध (नो हर्न) गर्न लागिएको महानगरका मेयर नागेश कोइरालाले जानकारी दिए । ध्वनि प्रदूषण नियन्त्रण गर्ने महानगरको योजनाअन्तर्गत गाडीको प्रेसर हर्न बजाउन निषेध गर्न लागिएको उनले बताए । केही हप्ताअघि महानगरले धार्मिक सङ्घसंस्था, साउन्ड सिस्टम प्रतिनिधिलगायतलाई बोलाएर ध्वनि प्रदूषण नियन्त्रण एवं धुम्रपान र गुट्खा, खैनी खाएर सहर फोहर गर्ने गरेका विषयमा छलफल गरेको थियो ।

विराटनगर कोशी प्रदेशको राजधानीसँगै प्रदेशको एकमात्रै महानगरपालिका भएकाले यसलाई व्यवस्थित र सभ्य बनाउने दायित्व सबैको भएको कोइरालाले बताए। उनले महानगरले सरसफाइ, फुटपाथ नियन्त्रण, सडकलाई पार्किङ निषेध, कर सङ्कलनलगायतका अभियान सञ्चालन गरिरहेको बताउनु भयो । पार्किङस्थललाई व्यवस्थित बनाउने कार्य भइरहेकाले केही दिनभित्रै विगतको निर्णय प्रभावकारी रुपमा कार्यान्वयन गरिने मेयर कोइरालाको भनाइ छ ।

उनले महानगर क्षेत्रभित्र प्रेसर हर्न नबजाइदिन सबैलाई आग्रह पनि गरेका छन् । ‘विराटनगर हामी सबैको हो, यसलाई हामी सबै मिलेर व्यवस्थित र सभ्य सहरका रुपमा स्थापित गर्नुपर्छ’ कोइरालाले भने, ‘सहरको सुन्दरता र सभ्यतासँग ध्वनि प्रदूषण पनि जोडिएको हुन्छ । महानगरले अघि सारेको अभियानमा सबैको साथ रहने मैले विश्वास लिएको छु ।’ ध्वनि प्रदूषण नियन्त्रणका लागि महानगरवासीबाट थुप्रै सुझाव आएको उपमेयर शिल्पा निराला कार्कीले जानकारी दिइन् ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट