Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नेपाललाई उच्च मध्यम आयको देशमा स्तरोन्नति गर्न ठूलो लगानीको आवश्यकता छ : प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्न आग्रह गरेका छन् ।

लगानी बोर्ड नेपालको बैठकलाई आज बिहीवार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘दिगो विकासको लक्ष्यलाई समयमै प्राप्त गरी उच्च–मध्यम आयको देशमा स्तरोन्नति हुन हामीलाई ठूलो लगानीको आवश्यकता छ ।’ उनले वैदेशिक पुँजी तथा प्रविधि भित्र्याएर स्वदेशमै रोजगारी सिर्जना गर्ने, उत्पादन र उत्पादकत्व बढाउने तथा आयात प्रतिस्थापन गरी निर्यात प्रवर्धन गर्नेतर्फ लगानीलाई केन्द्रित गर्नु पनि उत्तिकै आवश्यक रहेकोसमेत बताए ।

‘दिगो विकासको लक्ष्यलाई समयमै प्राप्त गरी उच्च मध्यम–आयको देशमा स्तरोन्नति हुन हामीलाई ठूलो लगानीको आवश्यकता छ तर सरकारसँग लगानीका सीमित स्रोत रहेको हुनाले स्वदेशी तथा विदेशी निजी क्षेत्रको सहभागिता अपरिहार्य छ’, उनले भने । प्रधानमन्त्री प्रचण्डले नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता र लगानी प्राप्तिमा ठूलो अन्तर रहेको बताउँदै त्यसलाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा सम्बद्ध सबै निकायले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।

‘विशेषगरी परियोजनाका लागि जग्गा प्राप्ति, स्थानीयका मागका सम्बोधन जस्ता विषयका कारण परियोजना समयमै सम्पन्न हुन नसकी परियोजनाको लागत बढ्ने क्रम बढिरहेको हुनाले त्यस सम्बन्धमा सबै मन्त्रालय र निकायहरूले एकीकृत भएर कार्य गर्न निर्देशित गर्दछु’, उनले भने । उनले ठूला पूर्वाधार परियोजनाको विकास गर्ने, ढाँचा तय गर्ने, लगानीका स्रोत जुटाउने, परियोजनाको कार्यान्वयन, अनुगमन र सहजीकरणजस्ता विषयमा सम्बद्ध निकायको सहयोग आवश्यक पर्ने बताए ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट