Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

गर्मी ह्वात्तै बढ्यो, नेपालगञ्ज, भैरहवालगायतका ठाउँको तापक्रम ४० डिग्री सेल्सियस नाघ्यो


काठमाडौं । देशको तराई तथा मध्यपहाडी क्षेत्रमा गर्मी बढेको छ । पछिल्लो केही दिनदेखि गर्मी बढेको हो । नेपालगञ्ज, भैरहवा, जनकपुर, सिमरालगायतका ठाउँको अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा धेरै भएको छ । ती क्षेत्रमा न्यूनतम तापक्रमसमेत २० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।

दिपायल, धनगढी, वीरेन्द्रनगर, घोराही, विराटनगरलगायतका क्षेत्रमा पनि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नजिक पुगेको छ । आज काठमाडौंको अधिकतम तापक्रम ३२ दशमलव ३ डिग्री सेल्सियस पुगेको छ । अधिकतम र न्यूनतम तापक्रम दुवै बढेका कारण देशका सबैजसो ठाउँमा गर्मी बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गर्मीसँगै देशभर वायु प्रदूषण पनि बढेको छ । अहिले काठमाण्डौ उपत्यकासहित देशका सबैजसो सहरी क्षेत्रमा राखिएका वायु प्रदूषण मापन केन्द्रहरूले हावाको गुणस्तर खराब अवस्थामा पुगेको देखाइरहेका छन् । गर्मीसँगै डढेलो पनि बढेको छ । बितेको २४ घण्टामा देशका दुई सय ३६ ठाउँमा डढेलो लागेको वन तथा भू–संरक्षण विभागले जनाएको छ । केही दिनदेखि तराईका क्षेत्रमा फैलिएको डढेलो मध्यपहाड हुँदै उच्चपहाडतर्फ पनि बढिरहेको छ । बढ्दो गर्मी, डढेलो र उच्च वायु प्रदूषणका कारण जनजीवन प्रभावित भएको छ । यो समस्या कम हुन पानी पर्नु आवश्यक रहेको वातावरण विज्ञहरू बताउँछन् ।

देशको पश्चिमी क्षेत्रबाट पश्चिमी वायुको प्रभाव देखिएको भए पनि तत्काल ठूलो पानी पर्ने सम्भावना भने नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमका जिल्लामा कतै–कतै सामान्य पानी परे पनि डढेलो निभाउने तथा प्रदूषण कम गराउने खालको वर्षाको सम्भावना तत्काल नदेखिएको महाशाखाले जनाएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट