Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

तीन वर्षअघि बन्द भएको नेपाल–चीन हिल्सा–पुराङ नाका दुईतर्फी खुल्यो


सिमकोट, १९ वैशाख । कोरोना महामारीका कारण तीन वर्षअघि बन्द भएको नेपाल चीनको हुम्लाको हिल्सा–पुराङ (ताक्लाकोट) नाका दुईतर्फी खुलेको छ। २०७६ मंसिरबाट बन्द भएको नेपाल–चीनको उत्तरीको व्यापारिक सीमा नाका नेपाल र चीन सरकारका अधिकारीहरूले गरेको पूर्ववत सहमतिअनुसार नै सोमबार खोलेको हो।

नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको तिब्बत स्वायत्त क्षेत्रको जनसरकारका कार्यकारी उपाध्यक्ष चेन योङछीले आआफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै २०२३ मार्च २९ मा तिब्बतको ल्हासामा बैठक बसेको थियो।

नेपाल–चीन सीमा व्यापार संयन्त्रको उक्त बैठकमा चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएका नाका पूर्णरूपमा खोल्ने सहमति भएको थियो। सोही सहमतिअनुसार सोमबार दुईतर्फी नाका खोलिएको हुम्लाका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिए। उनका अनुसार दुई देशका अधिकारीबीचको सहमतिअनुसार गएको चैत १८ गते शनिबारबाट सुवागढी–केरुङ नाका पूर्णरूपमा सञ्चालनमा आएको थियो।

‘कोरोनाका कारण बन्द भएको हिल्सा नाका लामो समयपछि सोमबार दुईतर्फी सञ्चालनमा आएको छ’, अधिकारी पौडेलले भने, ‘यसबाट हुम्लाका नागरिकको दैनिकी सुलभ हुनेदेखि निर्माण सामग्री अभावले रोकिएका जिल्लाको उत्तरी क्षेत्रका विकास निर्माणका कामहरूले समेत तीव्रता पाउने छन्।’

उनका अनुसार लामो समयदेखि बन्द भएको हिल्सा नाका गएको पुस १३ गते बुधबार एकतर्फी सञ्चालनमा ल्याइए पनि दुईतर्फी सञ्चालनमा आएको यो पहिलोपटक हो। यसले चीनबाट आयात हुने खाद्यान्न, दैनिक उपभोग्य वस्तु, जिल्लाको विकासका लागि आवश्यक पर्ने इन्धन, निर्माण सामग्री आयात गर्न सहज हुने प्रमुख जिल्ला अधिकारी पौडेलको भनाइ छ।

नाका सञ्चालनमा आएको पहिलो दिन नेपालका १८ जना नागरिक रोजगारका लागि चीनको ताक्लाकोट गएका छन्। प्रतिकूल मौसम र नाकामा भन्सार कार्यालय व्यवस्थित नभएकाले सामग्री आयात गर्ने काम केही दिन लाग्ने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। नाम्खाका नागरिक होटल व्यवसाय र अन्य रोजगारीका लागि चीनको ताक्लाकोट जान थालेका छन्। नाकामा नाम्खा गाउँपालिकाले हेल्थ डेक्सको स्थापना गरेको छ। चीन प्रवेश गर्ने र चीनबाट नेपाल आउने कुनै पनि व्यक्तिको स्वास्थ्य परीक्षण गरेपछि मात्रै प्रवेश गर्न दिइएको छ।

नेपाल सरकार र चीन सरकारसँग नाका खोल्न लामो समयदेखि पहल गरेकै प्रतिफल सोमबार दुईतर्फी नाका खुलेको प्रतिक्रिया दिएका चीनसँगको सीमा जोडिएको नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेम लामाले बताए। अब जिल्लाको दैनिकी सहज हुने उनको भनाइ छ।


क्याटेगोरी : समाचार, कर्णाली प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट