Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सोलु–काठमाडौं जीप भाडा २० प्रतिशतले घट्यो


सोलुखुम्बु, २० वैशाख । पर्यटकीय जिल्ला सोलुखुम्बु सदरमुकाम सल्लेरीदेखि संघीय राजधानी काठमाडौंको जीप भाडादर २० प्रतिशतले घटाइएको छ । जिल्ला प्रशासन कार्यालयले जनप्रतिनिधि र यातयात व्यवसायीसहितको बैठकबाट २ हजार ३ सय ७५ रुपैयाँ रहेको सल्लेरी–काठमाडौं जीप भाडादर २० प्रतिशत घटाउँदै १ हजार ९ सय कायम गरेको हो ।

इन्धनको मुल्य घटेपनि वर्षौअघि तोकिएको सवारी भाडा कायम हुँदा यात्रु मर्कामा परेको भन्दै प्रशासनले भाडा समायोजकन गरेको हो । समायोजित जीप भाडादर अनुसार सल्लेरी–विराटनगर २ हजार १ सय ७० निर्धारण रुपैयाँ निर्धारण गरिएको छ ।

यसअघि सल्लेरी–विराटनगर २ हजार ५ सय रुपैयाँ रहेको थियो । सल्लेरी–धरान २ हजार ४ सय रुपैयाँबाट घटाएर २ हजार १ सय २०,सल्लेरी–कटारी १ हजार ८ सय रुपैयाँबाट घटाएर १ हजार ४ सय ६० रुपैयाँ र सल्लेरी–ओखलढुंगा ७ सय रुपैयाँबाट घटाएर ५ सय रुपैया निर्धारण गरिएको छ ।

बैठकले स्थानीय तहसँगको समन्वयमा जिल्लाभित्र सञ्चालन हुने जीपको भाडा पनि समायोजन गरेको छ । सल्लेरी–छेस्काम १ हजार ८ सय रुपैयाँबाट घटाएर १ हजार ४ सय, सल्लेरी–सोताङको १ हजार ३ सय रुपैयाँबाट घटाएर ९ सय रुपैयाँ कायम गरिएको छ ।

जिल्ला भित्रका लागि सञ्चालित सवारी भाडाको हकमा सोलुदुधकुण्ड नगरपालिका बाहेक अन्य सबै पालिकाको भाडादर समायोजन गरिएको प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले बताए । उक्त भाडादर पालिकाले सिफारिस गरेको आधारमा कायम गरिएका हो भने नगरपालिकाले भाडादर सिफारिस गर्न नसकेको भट्टराईले बताए ।

यद्यपी समायोजन गरिएको नयाँ भाडादर बैशाख २५ गतेबाट मात्रै लागू गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको । इन्धनको मुल्य १० रुपैयाँ सम्म घटबढ भएको खण्डमा समेत उक्त भाडादर नै यथावत रहने निर्णय गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईको अध्यक्षतामा बसेको जिल्ला भाडादर निर्धारण समितिको उक्त बैठकमा सोताङ गाउँपालिका अध्यक्ष खिलाराज बस्नेत,सोलुदुधकुण्ड नगरपालिका उपमेयर गान्धी माया तामाङ,थुलुङ दुधकोशी गाउँपालिका ७ का वडाध्यक्ष भोजराज कार्की,यातयात व्यवसायी समिति,जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि,सञ्चारकर्मीलगायतको उपस्थिती थियो ।


क्याटेगोरी : पर्यटन, समाचार, कोशी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट