Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

कोशी प्रदेशको पुनः नामकरणको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा


विराटनगर,२५ वैशाख । कोशी प्रदेशको पुनः नामकरणको माग गर्दै आन्दोलनका कार्यक्रमहरु घोषणा गरिएको छ। कोशी प्रदेशको नाम खारेजी र पुनः नामकरणको माग गर्दै आन्दोलित भइरहेको प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरेको हो।

आन्दोलनका कार्यक्रममा कोशी नाममा हस्ताक्षर गर्ने सांसदहरु र दलका शीर्ष नेताहरुविरुद्ध विरोध जारी रहेको भूमिमा उनीहरुलाई बहिष्कार गर्ने उल्लेख गरिएको छ।

वैशाख २६ गते झापाको दमकमा सांकेतिक राँके जुलुस प्रदर्शन गरिने भएको छ। वैशाख २८ गतेदेखि प्रदेशसभाका ८२ जना सांसद र उनीहरुका शीर्ष नेता हिँड्ने बाटो, बस्ने होटल, खाने स्थानदेखि उनीहरु सहभागी हुने कार्यक्रम तथा बैठक स्थलहरुमा विरोध कार्यक्रम गरिने किराँत राई यायोक्खाका अध्यक्ष जीवन हाताचो राईले बताए।

नेताहरुलाई होटलमा बस्न र कार्यक्रम गर्न हल नदिनका लागि सम्बन्धित पक्षहरुलाई अनुरोध गर्ने समेत उनले जानकारी दिए। वैशाख २८ गतेदेखि जिल्लाहरुमा आमसभा, सङ्घर्ष समिति बिस्तार, तालाबन्दी, कोशी नाम हटाउने, जलाउने, मेट्ने, कालो झण्डा गाड्ने र ८२ जना सांसदलाई बहिष्कार कार्यक्रम जारी राख्ने जनाइएको छ।

आन्दोलनका अन्य कार्यक्रमहरुमा जेठ २ गतेदेखि ५ गतेसम्म कोशी प्रदेशका १४ वटै जिल्लाका मुख्य स्थानमा जनजागरण अभियानलाई तीव्रता दिने, जेठ दोस्रो हप्ता सङ्घर्ष समितिका केन्द्र, जिल्ला र स्थानीय निकायका सबै नेतृत्व पंक्तिको वृहत भेला आयोजना गर्ने, आन्दोलनलाई व्यवस्थित गर्न ‘पहिचानका लागि युवा’ शक्ति निर्माण गर्ने र प्रदेशसभा केन्द्रित विशाल जनप्रदर्शनको तयारी गर्ने अध्यक्ष राईले जानकारी दिए।


क्याटेगोरी : समाचार, कोशी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट