Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

विपद् पूर्वतयारीको कामलाई व्यवस्थित र प्रभावकारी ढङ्गले गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन


काठमाण्डौं, २९ वैशाख । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् पूर्वतयारीको कामलाई व्यवस्थित र प्रभावकारी ढङ्गले गर्न निर्देशन दिएका छन्।

शुक्रवार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा गृहमन्त्री श्रेष्ठले विपद् पूर्वतयारीको कामलाई व्यवस्थित र प्रभावकारी ढङ्गले अगाडि बढाउन निर्देशन दिएका हुन् । उनले पूर्वतयारीमा यथास्थितिवादी सोच र व्यवहार भएको भन्ने टिप्पणी आउने गरेको भन्दै आउँदा दिनमा कुनै पनि कमी हुन दिनु नहुने बताए। मन्त्री श्रेष्ठले असावधानीका कारण, अकर्मण्यताका कारण वा निर्णय कार्यान्वयन गर्न नसकेका कारण पुरानै अवस्था दोहोरिएको आफूले सुन्न र हेर्न नपरोस् भनी सम्बन्धित निकायलाई सचेत गराए ।

उनले भने ‘सधैँ हाम्रो यथास्थितिवादी सोच र व्यवहार भयो भनेर टिप्पणी आउने गरेको छ । यद्यपि हामीले कानुन, संरचनामा केही परिवर्तन गरेका छौँ । तर पनि पूर्वतयारीको कुरामा कमी भयो भन्ने कुरालाई गहिरो आत्मसात् गर्नु जरुरी छ । तयारीलाई व्यवस्थित ढङ्गले, प्रभावकारी ढङ्गले अगाडि बढाउनुपर्ने आवश्यकता छ । भएका निर्णय ठिक ढङ्गले कार्यान्वयन नभएर वा तयारी नपुगेर विपद् व्यवस्थापनमा समस्या भयो भन्ने कुरा नआओस् । यसमा सम्बन्धित प्राधिकरण र सम्बन्धित अरू सबै निकायले पनि राम्रोसँग ध्यान दिन म विशेष अनुरोध गर्न चाहन्छु ।’

सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले डोटी, बाजुरा, लमजुङ, खोटाङ र भोजपुर केन्द्रविन्दु भई भूकम्पबाट क्षतिग्रस्त घर परिवारका लागि अस्थायी आवास निर्माण गर्न ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । साथै आउँदो मनसुनको पूर्वतयारी तथा प्रतिकार्यको कार्ययोजना आउँदो बैठकमा बनाउने पनि निर्णय भएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट