Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

चिडियाखानाका बाघलाई एक दिन ब्रत !


ललितपुर, ३० वैशाख । जावलाखेलमा रहेको सदर चिडियाखानाले बाघको सङ्ख्या धेरै भएपछि बाघलाई हप्तामा एक दिन व्रत राख्न थालेको छ ।

सङ्ख्या थपिँदै जाँदा आर्थिक भार थपिएकाले प्रत्येक शनिवार बाघलाई व्रत अर्थात् ‘फास्टिङ’मा राख्ने गरेको र शनिवार बाघले पानी मात्र पाउने सदर चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाले जानकारी दिए ।

ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखानामा चारवटा भाले र दुईवटा पोथी गरी जम्मा छ वटा बाघ राखिएको छ । एउटा बाघलाई प्रतिदिन पाँच केजीका दरले राँगाको मासु खुवाउनुपर्दा प्रतिवर्ष करिब ५६ लाख १६ हजार रुपैयाँ खर्च आउने सदर चिडियाखानाका कोइरालाले जानकारी दिए ।

उनका अनुसार अहिले चिडियाखानामा १८ वर्षको बाङ्गे बाघ, १३ वर्षको महाराजा बाघ, १२ वर्षको बगौरा बाघ, ९ वर्षको प्रताप बाघ, ८ वर्षको जगती (पोथी) बाघ र ५ वर्षको महारानी (पोथी) बाघसहित जम्मा ६ वटा बाघ छन् ।

कोइरालाले भने, ‘सदर चिडियाखानाको क्षमताभन्दा बढी बाघ थपिएको छ । बाघ थपिँदै जाने क्रममा आर्थिक भार पनि थपिएको छ । त्यसैले प्रत्येक शनिवार बाघलाई ‘फास्टिङ’मा राख्ने गरेका छौँ । उनीहरुले पानी मात्र पिउँछन् ।’

पाँच वर्षे महारानी नामको बाघले वैशाख ८ मा कञ्चनपुर बेलौरी नगरपालिका–८ पचुई गाउँ क्षेत्रमा पर्ने खप्टी नालामा ४२ वर्षीया गङ्गादेवी चन्दलाई आक्रमण गरेको थियो । बाघको आक्रमणबाट चन्दको ज्यान गएको थियो ।

बाघको आक्रमणबाट चन्दको ज्यान गएपछि, डिभिजन वन कार्यालय कञ्चनपुर, निकुञ्ज कार्यालय ९हात्तीसहित०, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, कोषको शुक्लाफाँटा संरक्षण कार्यालयलगायत निकाय क्रियाशील भइ बाघलाई नियन्त्रणमा लिएर वैशाख १० गते चिडियाखानामा ल्याइएको थियो ।

महारानीलाई अहिले क्वरेन्टिनमा राखिएको छ । सुरुसुरुमा आहारा नखाएर झोक्राए पनि केही दिनयता सामान्य अवस्थामा फर्किन लागेको छ । अहिले प्रताप नामको बाघ र जगती नामको बाघलाई सँगै राखिएको छ भने प्राविधिक टोलीको निगरानीमा क्वरेन्टिनमा रहेको महारानी बाघमा केही सुधार आएपछि महाराजा बाघसँग मिलाएर राख्ने योजना छ ।


क्याटेगोरी : जनमञ्च, रोचक, समाचार, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट