Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले अनसन तोडे


बर्दिया, ६ जेठ । बारबर्दिया र गुलरिया जोड्ने जब्दीघाट पुलमुनि अनसन बस्नुभएका नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले अनसन तोडेका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँगको ११ बुँदे सहमतिपछि गौतमले आठौँ दिनमा आज अनसन तोडेका हुन्। मन्त्री ज्वालाले जुस खुवाएर उनको अनसन तोडाएका हुन् ।

बर्दियाको जब्दीघाटमा रहेको बबई नदीमाथि भासिएको पुलको स्पान हटाउनु पर्ने र तत्काल नयाँ पुल निर्माण गर्नुपर्ने लगायतका माग राख्दै उनी गएको वैशाख ३० गते बेलुकादेखि अनसनमा बसेका थिए ।

उनले बबई नदीको जब्दीघाटमा भासिएको पुलको स्पान हटाएर तत्काल नयाँ पुल निर्माण गर्नुपर्ने, बबई नदीमा तटबन्ध निर्माण गर्नुपर्ने, बबई सिँचाइ आयोजनामा बजेट थप्नुपर्ने, बर्दियाको भुरिगाउँदेखि तेलपानी हुँदै सुर्खेतसम्म सडक निर्माण यसै वर्षदेखि सुरु गर्नुपर्ने लगायतका १५ बुँदे माग राखेका थिए ।

‘हाम्रो बर्दिया बचाऔँ, समुन्नत बर्दिया बनाऔँ’ भन्ने अभियानसहित अनसन बस्नुभएका गौतमसँगै लुम्बिनी प्रदेश सभा सदस्य भुवनेश्वर चौधरी पनि अनसनमा बसेका थिए। स्थानीय पालिकाका जनप्रतिनिधिहरु पनि उनलाई साथ दिँदै रिले अनसनमा बसेका थिए ।

सांसद गौतमले पुल निर्माण लगायत नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने मागहरु पूरा नभएसम्म अनसन जारी राख्ने बताएका थिए । सहमति पछि उनले सरकारले तत्काल माग सुनुवाइ गर्नेमा आफू आशावादी रहेको बताएका छन् ।

पप्पु कन्स्ट्रक्सनले निर्माण कार्य सम्पन्न गरेको केही महिनामै जब्दीघाटको पुल २०७४ साल साउनमा भासिएको थियो भने ०७९ साल असोज २० गते बबई नदीमा आएको बाढीले पुल बगाएको थियो ।

बाढीले आधा भत्किएको पुल बगाएपछि पूर्व(पश्चिम राजमार्ग जोड्ने सदरमुकाम गुलरियादेखि बारबर्दिया नगरपालिकाको रम्मापुर सडक खण्डमा गाडी आउजाउ बन्द छ ।


क्याटेगोरी : समाचार, लुम्बिनी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट