Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

दुवै खुट्टा गुमाएका बुढा मगर सगरमाथाको चुचुरोमा, यो सिजनमा साढे ४ सय जनाले आरोहण गरे


काठमाडौं । घुँडामाथिसम्म दुवै खुट्टा गुमाएका रोल्पाका हरिबहादुर बुढा मगरले सगरमाथा आरोहण गरेका छन्। मगरले कृत्रिम खुट्टाको सहयोगमा हिजो दिउँसो सगरमाथा आरोहण गरेका पर्यटन विभागले जनाएको छ ।

सन् १९९९ मा ब्रिटिश गोर्खा सेनामा भर्ती भएका मगरले अफगानिस्तानको लडाइँमा सन् २०१० मा तालिबानको एम्बुसमा परेर आफ्ना दुवै खुट्टा घुँडाभन्दा माथिबाट गुमाएका थिए । यसअघि दुवै खुट्टा गुमाएका दुई जनाले सगरमाथा आरोहण गरेका थिए । यस वर्षको वसन्त ऋतुमा साढे चार सय जनाभन्दा धेरैले सगरमाथा आरोहण गरिसकेका पर्यटन विभागका निर्देशक युवराज खतिवडाले जानकारी दिए ।

वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि यस वर्ष चार सय ७८ जनाले अनुमति लिएका छन् । अनुमति लिएका आरोहीहरुले कम्तीमा एक जना आरोहण सहयोगी लैजाने भएकाले आरोहण गर्न जानेको सङ्ख्या अनुमति लिनेको दोब्बरभन्दा धेरै हुन्छ ।

यसैबीच यस वर्ष सगरमाथा आरोहणका क्रममा ११ जनाले ज्यान गुमाइसकेका छन् । अहिलेसम्म ११ जनाको शव उद्धार भइसकेको र दुई जना हराइरहेका पर्यटन विभागका निर्देशक एवम् पर्वतारोहण शाखा प्रमुख युवराज खतिवडाले जानकारी दिए ।

यस वर्ष अघिल्लो शनिवारदेखि सगरमाथाको आरोहण सुरु भएको हो । सामान्यतया सगरमाथा आरोहणका लागि मे २९ सम्मको समय अनुकूल हुन्छ ।

 


क्याटेगोरी : पर्यटन, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट