Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

बाजुरामा असिनापानीले दुई करोड रुपैयाँभन्दा बढी अन्नबालीमा क्षति


बाजुरा, ७ जेठ । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा गत बुधबार दिउँसो आएको असिनापानीले दुई करोड रुपैयाँभन्दा बढी अन्नबाली, तरकारी र फलफूलमा क्षति पुर्‍याएको छ ।

खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ६ र ७ का करिब सात हजार रोपनी जग्गाको अन्न, तरकारी र फलफूल खेतीमा क्षति पुगेको असिनापीडित किसानले बताएका छन्। गाउँपालिका–७ का वडाध्यक्ष खगेन्द्र रावतले दुई वडाका ९०५ परिवारले लगाएको अन्नबाली, तरकारी र फलफूल खेतीमा करिब दुई करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरेको जानकारी दिए।

हिउँदे बाली भित्र्याउन नपाउँदै आएको असिनापानीले खेतबारीमै गहुँ, जौ सखाप पारेपछि किसानहरू चिन्तित छन्। कम उत्पादन हुने र हिउँदभरि दुःख गरेर लगाएको खेती असिनापानीले सखाप पारेपछि बालबच्चा कसरी पाल्ने भन्ने चिन्ता बढेको खप्तड छेडेदह गाउँपालिका–७ बुढाबाडाकी भीम्ला बुढाले दुःखेसो पोखे। ‘असिनापानीले गहुँ, जौ, तरकारीमा आलु प्याज, लसुन र फलफूलमा क्षति पुग्यो।’

असिनाबाट पीडित बनेका किसानले बिहान खेतबारी गएर टुलुटुलु पाकेको गहुँ र जौ हेर्नुबाहेकको विकल्प नरहेको ओलीका कृषक बिर्ख ओलीले बताए। उनले पीडित किसानलाई राहतभन्दा पनि क्षतिपूर्ति दिनुपर्ने तर्क गरे।

असिनापानीले वडा नं ६ को मैतोला, नाइना र सुदाडामा अन्न बाली, तरकारी र फलफूल खेतीमा क्षति पुर्याएको छ भने वडा नं ७ को बुढाबाडा, लम्गाउँ, गुम्लागाउँ, कठायतबाडा, ओलीगाउँ र दानीगाउँमा नोक्सानी गरेको वडाध्यक्ष रावतले बताए।

क्षतिको विवरण संकलनमा सुरसार छैन

असिनापानीले खप्तड छेडेदह–६ र ७ वडाका किसानले खेतबारीमा लगाएको अन्न, तरकारी र फलफूल खेतीमा क्षति पुर्याएको भए पनि स्थानीय सरकार पालिका र कृषि ज्ञान केन्द्र बाजुराले विवरण संकलन नगरेको पीडित गुनासो किसानले गरेका छन्।

असिनापानीले वडा नं ६ का ३८० र ७ का ५२५ परिवार गरी ९०५ परिवार प्रभावित भए पनि गाउँपालिकाले क्षतिको विवरण संकलनमा चासो नदेखाएको पीडित कृषक गौरी ओलीको भनाइ छ।

क्षतिको विवरण संकलनका गर्न पालिका र कृषि ज्ञान केन्द्र बाजुराले चासो नदेखाएपछि क्षतिपूर्ति नपाउने चिन्ता कृषकमा परेको छ। असिनापानीबाट प्रभावित बनेका किसानको क्षतिको विवरण संकलनका लागि गाउँपालिका र कृषि ज्ञान केन्द्र बाजुरालाई आग्रह गरेको भए पनि कुनै चासो नदेखाएर बेवास्ता गरेको वडाध्यक्ष रावतले बताए।


क्याटेगोरी : कृषि, समाचार, सुदूरपश्चिम प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट