Techie IT
  • २० फागुन २०८०, आईतबार
Jhilko

लामो खडेरीले धानको ब्याड सुक्न थाल्यो


काठमाडौं । लामो खडेरीले धानको ब्याडमा धाँजा फाट्न थालेपछि किसान निराश भएका छन् । गर्मी बढेको र पानी पर्न नसकेका कारण किसानलाई ब्याड कसरी जोगाउने भनेर चिन्ता थपिएको छ । सामान्यतया जेठ अन्तिमतिर नेपालमा मनसुनी गतिविधि भित्रिनु पर्ने हो । तर यसपालि असार पहिलो हप्ता मात्रै मनसुन भित्रिन सक्ने अनुमान छ ।

पानी नपरेको क्षेत्र मुख्य गरी तराईमा धानको ब्याड राख्न समस्या भएको छ । राखेको ब्याडमा पनि धाँजा फाट्न थालेको छ । ब्याड चिराचिरा पर्ने र यसले बिरुवा सुक्ने समस्या छ । अहिले धानको ब्याडमा खडेरीले समस्या पारेको र स्रोत भएसम्म पानीको व्यवस्थापन गरी बेलाबेला सिँचाइ गर्न नेपाल कृषि अनुसन्धान परिषद् नार्क अन्तर्गत बाली विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिकको सुझाव छ । नार्कले अहिलेलाई जसरी हुन्छ ब्याड जोगाउनेतर्फ ध्यान दिन दिन किसानलाई सुझाव दिएको ।

सधै मौसम र मल बीउ अनुकूल नहुने हुँदा धानको उत्पादन बढाउन त्यसैअनुसारको बीउ छनोट र ब्याड व्यवस्थापन गरी रोपाइँको काम थाल्न पनि बाली वैज्ञानिक चौलागाईँको सुझाव छ । सिँचाइ नपुगेका ठाउँमा अझै पनि आकाशे पानीको भर पर्नुपर्ने बाध्यता छ । सिँचाइ, मलखाद, बीउबीजन, यान्त्रिकरण तथा कृषि कामदार अभावजस्ता समस्या किसानले भोग्दै आएका छन् । नेपालमा धानखेतीका लागि तराई र भित्री मधेस तथा पहाडका फाँटलाई उर्वरभूमि मानिन्छ । पानी पर्याप्त भएका ठाउँमा फाट्टफुट्टबाहेक यसवर्ष अझै रोपाइँ सुरु हुन सकेको छैन ।

मौसम पूर्वानुमान अनुसार पानी कम परेमा मुख्य असर धानबालीमा पर्ने देखिन्छ । यसले खाद्य उत्पादन तथा चक्रमा नै असर पर्ने देखिन्छ । धानको उत्पादन घटेमा किसानलाई मात्र नभइ समग्र अर्थतन्त्रमा असर पुग्ने कृषि विज्ञ बताउँछन् ।

सरकारले राष्ट्रिय धान दिवस र रोपाइँ महोत्सवका लागि तयारी सुरु गरेको छ । आउँदो असार १५ गते ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि स् धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदैछ ।

कृषि विभागका महानिर्देशक हरिबहादुर केसीको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले २०६१ देखि मनाउँदै आएको धान दिवस तथा रोपाइँ महोत्सवलाई यसवर्ष पनि निरन्तरता दिने निर्णय गरेको छ । धानको उत्पादन वृद्धि एवं आधुनिकीकरण र व्यवसायिकीकरण गर्न दिवस महत्त्वपूर्ण रहेको कृषि विभागले जनाएको छ ।

जलवायु परिवर्तनका कारण धानखेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न आवश्यक रहेको र त्यसका लागि किसानले पनि जलवायु अनुकूलित प्रविधिको प्रयोगतर्फ जोड दिनुपर्ने बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ ।

धानको आर्थिक, सामाजिक, सांस्कृतिकलगायत महत्त्व रहेको छ । पछिल्लो समय उन्नत जातको धानखेतीका लागि सरकारले किसानलाई प्रोत्साहन गरेको छ भने रैथाने पुराना बीउ प्रवर्द्धनमा पनि जोड दिँदै आएको छ । पोहोर ५४ लाख ८६ हजार मेट्रिक टन धान फलेको थियो । यो अघिल्लो वर्ष २०७८र७९ को तुलनामा ६ दशमलव ९४ प्रतिशतले धेरै हो । पोहोर परारको तुलनामा धान उत्पादन केही बढे पनि तीन वर्षअघिको तहमा पुग्न सकेको छैन ।

नेपालमा अहिलेसम्मकै सर्वाधिक धान उत्पादन आर्थिक वर्ष २०७७/७८ मा भएको थियो । त्यस वर्ष रासायनिक मलको व्यवस्थापन तथा मौसमले पनि साथ दिएका कारण ५६ लाख २१ हजार मेट्रिक टन धान फलेको थियो ।

 


क्याटेगोरी : कृषि, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट