Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

रुकुम पश्चिममा मापदण्ड विपरीत निर्माण हुँदै गरेको सडक डोजर लगाएर भत्काइयो


रुकुम पश्चिम । रुकुम पश्चिममा मापदण्ड विपरीत गुणस्तरहीन काम भएको भन्दै डोजर लगाएर सडक भत्काइएको छ । आठबिसकोट नगरपालिकाले आफ्नै पालिकाको केन्द्र रहेको राडी बजारमा निर्माणाधीन सडकमा डोजर लगाएर भत्काएको हो ।

मेयर रवि केसीले मापदण्ड विपरीत र गुणस्तरहीन काम भएको पाइएपछि निर्माणकै क्रममा रहेको सडक भत्काइएको बताए । केसीसहितको टोलीले निर्माणाधीन सडकको अस्ति आइतवार अनुगमन समेत गरेको थियो ।

अनुगमनको क्रममा मापदण्ड विपरीत निर्माण भएको भेटिएपछि हिजो डोजर नै लगाएर सडक भत्काइएको हो । आठबिसकोट नगरपालिका–९ मा निर्माणाधीन राडी बजारदेखि दाजे जोड्ने र पसानेदेखि रामघाट जोड्ने सडक प्राविधिक टोलीसहित अनुगमन गरिएको थियो ।

गुणस्तरहीन काम भएको ठाउँमा भत्काइएको नगरपालिकाका मेयर केसीले बताए । बाँकी रहेको काममा पनि गुणस्तर कायम गर्न उनले निर्माण कम्पनीलाई अनुरोध गरेका छन् । अनुगमन टोलीले सडकछेउमा नाला निर्माण गर्दा गिट्टी र ढुङ्गाको मात्रा ६०/४० हुनुपर्नेमा ढुङ्गा मात्रै राखेर ढलान गरेको पाइएको जनाएको छ । त्यसैगरी निर्माण भएको नाला कतै भासिएको, एक हप्ता नपुग्दै भत्किएको पाइएको थियो । आरसीसी गरेको सडक समेत केही दिनमै भत्किएर छड देखिन थालेको अनुगमन टोलीले जनाएको छ ।

बसपार्क र क्याम्पसनजिकको ढलानमा बालुवा, सिमेन्ट र गिट्टीको मात्रा नमिलेपछि भत्किन थालेको, एकातिर निर्माण पूरा नहुँदै र अर्कातिरबाट भत्किन सुरु गरेको भन्दै स्थानीय बासिन्दाले गुनासो गरेका थिए । सहरी विकास मन्त्रालयमार्फत् भइरहेको सडक निर्माणको ठेक्का गौरीशंकर हिमालयन कन्ट्रक्सन र शुभारम्भ कन्ट्रक्सन प्रालिले लिएको छ ।

गौरीशंकर कन्ट्रक्सनले राडी बजारदेखि खारखारासम्म ग्राबेल, मेसनरीवाल र नालासहित १४ करोड रुपैयाँमा र शुभारम्भ कन्ट्रक्सन प्रालीले ६२ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको नगरपालिकाले जनाएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट