Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

४० हजार रुपैयाँ लिएर नक्कली परीक्षार्थीलाई एसईई दिन लगाउने धरानका कन्सलटेन्सी सञ्चालक पक्राउ


धरान, २६ चैत । ४० हजार रुपैयाँसम्म लिएर नक्कली परीक्षार्थीलाई एसईई दिन लगाउने कन्सलटेन्सी सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।

नक्कली परीक्षार्थी लगाएर परीक्षा दिन लगाउने गरेको धरानको डल्फिन पूर्वाञ्चल एकेडेमीका सञ्चालक सन्तोष राई पक्राउ परेका हुन्। एसईई दिने क्रममा मोरङबाट पक्राउ परेका दुई सय जना नक्कली परीक्षार्थीहरूलाई सुनसरी र मोरङका आधा दर्जनभन्दा बढी प्राइभेट इनस्टिच्युटहरूले भाडामा परीक्षा दिन लगाएको पाइएको छ।

यसरी नक्कली परीक्षार्थी खडा गरेर उत्तीर्ण गराउने जिम्मा लिने कन्सल्टेन्सी सुनसरीमा धेरै पाइएको छ। टेरेसा एकेडेमीका सञ्चालक विवेक आले मगर, प्यासिफिक कन्सल्टेन्सीका सञ्चालक ललिता आङ्बोहाङ, युनिक कन्सल्टेन्सीका छत्र तामाङ, लालीगुराँस कन्सेल्टेन्सीका सोनाम रिजाल रहेको बुझिएको छ।

उर्लाबारीको एमएन कन्सल्टेन्सी, गुडविल कन्सल्टेन्सी मङ्गलबारे, पर्फेक्ट कन्सल्टेन्सी पथरी, एनएआरटी कलेज पथरी रहेका छन्। नक्कली परीक्षार्थीहरूमा धेरैजसो धरानस्थित कन्सल्टेन्सीका रहेका छन्। खुल्लातर्फका विद्यार्थीले कन्सल्टेन्सीलाई एकमुष्ठ रकम बुझाएपछि पास गर्ने जिम्मा लिने गर्दछन्। त्यसपछि कन्सल्टेन्सीले नक्कली परीक्षार्थी खडा गरेर परीक्षामा सामेल गराउने गरेका छन्।

प्रहरीका अनुसार मोरङमा मात्रै चैत २२ र २३ गते कुल २ सय १ नक्कली परीक्षार्थी पक्राउ परेका छन्। पक्राउ पर्नेमा अधिकांश परीक्षार्थी धरान र बेलबारीका छन्। धरानबाट अधिकांश कसल्टेन्सीले विद्यार्थी भर्ना गर्ने र रकम लिएर नक्कली परीक्षार्थीलाई परीक्षा दिन लगाउने गर्दै आएका थिए।

अर्काको नाममा परीक्षा दिन आएका केराबारी गाउँपालिकास्थित सार्वजनिक मावि परीक्षा केन्द्रबाट सबैभन्दा बढी १ सय २७ जना नक्कली परीक्षार्थी पक्राउ परेका थिए। झोराहाटस्थित सरस्वती मावि केन्द्रबाट ५२ जना र सुन्दरहरैंचाको जनता मावि केन्द्रबाट २० जना पक्राउ परेका थिए।


क्याटेगोरी : कोशी प्रदेश
ट्याग : #hot, #pakrau

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट