Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

कोशी प्रदेश सभाकी उपसभामुख सृजना दनुवारमाथि आक्रमण


विराटनगर, २५ जेठ । कोशी प्रदेश सभाका उपसभामुख सृजना दनुवारमाथि बिहीबार आक्रमण भएको छ । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित नेपाली सेनाको १८ नम्बर बाहिनीमा रहेको सर्पदंश उपचार केन्द्रमा पोर्टेबल भेन्टिलेटर हस्तान्तरण कार्यक्रममा सहभागी भएर फर्किने क्रममा त्रियुगा नगरपालिका–१२ बुद्धचोकमा आक्रमण भएको हो ।

कोशी प्रदेश नामकरणको विरोधमा रहेको जातीय पहिचान पक्षधर संघर्ष समितिसम्बद्ध कार्यकर्ताहरूले उपसभामुख दनुवारमाथि आक्रमण गरेको बताइएको छ । कार्यक्रम सकेर फर्किने क्रममा उपसभामुख दनुवारमाथि आक्रमण भएको उदयपुरका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए ।

ढुंगामुढाका कारण उपसभामुख दनुवारको गाडीको सीसामा क्षति पुगे पनि उपसभामुख सुरक्षित रहेको उनका स्वकीय सचिव भुवन दाहालले जानकारी दिए । उनका अनुसार आक्रमणबाट उपसभामुख दनुवार चढेको बा २ झ ३७३८ नम्बरको गाडीमा क्षति पुगेको छ ।

‘मन्त्रीहरू नै आउने भएपछि पहिचानवादीहरूले अवरोध गर्ने कुरा जानकारीमा आएको थियो,’ प्रजिअ गौतमले भने, ‘स्वास्थ्य सामग्री हस्तान्तरण गरेर मन्त्रीहरू फर्किँदासम्म समस्या थिएन, उपसभामुखज्यु खाना खान जाने क्रममा आक्रमण भएको जानकारीमा आएको छ ।’

उनले पहिचानवादीको नाममा मोटरसाइकलमा आएका ८–१० जनाको समूहले छापामार शैलीमा आक्रमण गरेको बताए । उनले घटनामा संलग्नहरूको खोजी भइरहेको भन्दै कानुनी कारबाही गर्ने बताए ।


क्याटेगोरी : कोशी प्रदेश
ट्याग : #koshi pradesh, #shreejana danuwar

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट