Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

द्वन्द्वकालीन घटनालाई फौजदारी कानुन अनुसार समाधान गर्न खोजिए देशको आधा भाग जेलमा परिणत हुन्छ : डीपी ढकाल


भक्तपुर, २८ फागुन । वागमती प्रदेशका मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालले द्वन्द्वकालीन घटनालाई फौजदारी कानुन अनुसार समाधान खोजिए देशको आधा भाग जेलमा परिणत हुने चेतावनी दिएका छन् ।

प्रेस सेन्टर नेपाल, भक्तपुरले शनिवार आयोजित साक्षात्कार कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका ढकालले तत्कालिन विद्रोही माओवादीले उठाएका एजेण्डा संविधान सभा, गणतन्त्र, संघियता स्थापित भएको बताउँदै जनयुद्धको जित भएको जिकिर गरे ।

उनले जनयुद्धकालीन घटनालाई विस्तृत शान्ति सम्झौताको भावना र मर्म अनुसार समाधान खोजिनु पर्नेमा जोड दिए । “एजेन्डाले जित्ने र योद्धाले हार्ने स्थिति हुँदैन । शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याएर देश स्थायी शान्ति र दिगो विकासमा केन्द्रीत हुनुपर्छ,” उनले भने ।

अर्थ राजनीतिका जानकार समेत रहनुभएका ढकालले युवाहरुको विदेश पलायनलाई रोक्न उत्पादनमुखी योजना सञ्चालनमा जोड दिँदै प्रदेश सरकारले कृषि पर्यटनको दिगो विकासको लागि भएका प्रयासहरुबारे जानकारी दिए ।
उनले नागरिकलाई स्वरोजगार बनाउने तालिममा मात्र प्रदेशले वार्षिक २० करोड रुपैयाँ लगानी गरेको तथ्याङ्क प्रस्तुत गरे । स्थानीय तहलाई स्थानीय आवश्यकताको आधारमा अरवौं रुपैया अनुदान उपलब्ध गराउदै आएको उल्लेख गर्दै उनले प्रदेश सरकारले नमूना समाजवादी वडाको लागि २५ करोड रुपैयाँ उपलब्ध गराएको जानकारी गराए ।

प्रदेशलाई बलियो बनाई संघियतालाई स्थायित्व दिन नेपाली प्रेस जगतले पनि भूमिका खेल्नुपर्नेमा जोड दिँदैं उनले अहिले केही तत्वले प्रदेश खारेजीको माग गर्दै संघीयता माथि प्रहार गरेको टिप्पणी गरे ।

नेता ढकालले भक्तपुरमा विकास निर्माणका योजनालाई बजेट विनियोजन गर्न आफूले भूमिका खेल्ने बताउँदै भक्तपुर चक्रपथसँगै बागमती प्रदेशको १३ वटै जिल्ला जोड्ने चक्रपथ निर्माणको जरुरी रहेकोमा जोड दिए ।

उनले बागमती प्रदेश र नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिबीच समन्वय र सहकार्यको लागि पहल गर्ने बताउँदै महासंघको उपत्यकाको तीन वटै शाखाको भवन निर्माणका लागि आवश्यक बजेटका लागि पनि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रेस सेन्टर नेपाल भक्तपुर संयोजक सन्जीप घिमिरे शुभचिन्तकको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष जगतकृष्ण प्रजापति, काठमाण्डौं अध्यक्ष सूर्य सुवेदी, ललितपुर सचिव रामहरी कार्की, महासंघ भक्तपुरका सल्लाहकार पुष्करराज बुढाथोकी, सहसचिव हेमराज ढकाल, कार्यसमिति सदस्य सञ्जिव दुलाल, रेडियो जनसञ्चार एफएमका सुरेश सायेजु लगायतले पत्रकारका समस्या समाधानमा बागमती प्रदेश सरकारले पनि ठोस नीति ल्याउनुपर्ने सुझाव दिएका थिए ।


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट