Techie IT
  • ३० चैत्र २०८०, शुक्रबार
Jhilko

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले चैत ८ गते विश्वासको मत लिने


हेटौंडा, २ चैत । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले चैत ८ गते विश्वासको मत लिने भएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री जम्मकट्टेलले चैत ८ गते बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची तय भएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

केही हप्ताअघि केन्द्रमा राजनीतिक समिकरण बदलिएसँगै बागमतीमा राप्रपाबाट मन्त्रिपरिषद्मा प्रतिनिधित्व गर्ने ३ जना मन्त्रीले राजीनामा दिएका थिए । राप्रपाले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि वर्तमान सरकार अल्पमतमा परेको थियो ।

गत पुस २६ गते बागमती मन्त्रिपरिषद् गठन हुँदा नेकपा एमाले,नेकपा माओवादी र राप्रपाको संयुक्त गठबन्धनबाट मुख्यमन्त्री शालिकराम जम्मकट्टेल,आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया र जलस्रोत सिचाईं तथा उर्जा मन्त्रीको रुपमा उद्धव थापासहितको मन्त्रिपरिषद् गठन भएको थियो ।

वर्तमान मन्त्रिपरिषद्मा नेकपा माओवादी र नेकपा एमालेको मात्रै मन्त्रीहरू समावेश छन् । अहिले नेकपा एमालेका तर्फबाट मन्त्रीहरूले कुनै प्रतिक्रिया नजनाई पदमा बहाली रहेको हुँदा विश्वासको मत लिनुपर्ने बाध्यता आइपरेको पनि प्रदेश सभा सचिवालयले जनाएको छ ।


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट