Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

भ्रष्टाचार, विकृति र विसंगतिविरुद्धको लडाइँमा पनि कुन बेला एम्बुसमा परिने हो थाहा छैनः प्रचण्ड


काठमाडौं, १३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार, विकृति र विसंगतिविरुद्धको लडाइँमा जस्तोसुकै परिस्थिति आए आओस् भनेर हाम फालेको बताएका छन्।

पत्रकार तथा साहित्यकार सहिद कृष्ण सेन ‘इच्छुक’को २१औँ स्मृति दिवसका अवसरमा आज प्रेस सेन्टर नेपालले साँखुमा आयोजना गरेको १९औँ साधारणसभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले द्वन्द्वकालमाझैँ अहिले पनि युद्धमा होमिएको बताएका हुन्।

‘हिजो जनयुद्ध सुरु गर्दा को कतिखेर मारिने, थाहा थिएन तर पनि हाम फालेका थियौँ’, प्रचण्डले भने, ‘अहिले भ्रष्टाचार, विसंगतिविरुद्धको यो लडाइँ अघि बढाइएको छ। जसरी हिजो कहाँ कुन बेला मरिने थाहा नभए पनि युद्धमा होमियौँ, अहिले थालिएको कदमले पनि कुन बेला एम्बुसमा परिने हो थाहा छैन। कुन बेला धरापमा परिन्छ, थाहा नभए पनि होमिएका छौँ।’

उनले यो अभियान नरोकिने बरु झन् चर्किने दाबी गरे। ‘केही समयपछि ठूलठूला एक्सन हुनेछ, तरंग पार्नेछ’, प्रचण्डले थपे।

अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा १७ जना पक्राउ परिसकेका छन् भने फरार १३ जनालाई प्रहरीले खोजी गरिरहेको छ। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने आश्वासन दिएर लाखौँ रुपैयाँ असुलेको अभियोगमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री खुमबहादुर खड्कालगायत उच्च पदस्थ व्यक्ति पनि पक्राउ परेका छन्। उनीहरूबारे अनुसन्धान जारी छ।


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश
ट्याग : #breaking, #prachanda

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट