Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

रेशम चौधरीलाई आममाफी दिएर सरकारले सर्वोच्च अदालतको आदेशको बलमिच्याइँ गर्योः गगन थापा


काठमाण्डौं, १५ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रेशम चौधरीलाई आममाफी दिएर सरकारले सर्वोच्च अदालतको आदेशको बलमिच्याइँ गरेको बताएका छन् ।

सोमवार ललितपुरमा आयोजित कार्यकर्ता भेला कार्यक्रममा महामन्त्री थापाले आवश्यकताका आधारमा निर्णय गर्नेभन्दा पनि सरकारले कानुनको शासन मान्नुपर्ने बताए । उनले कानुनले बन्दोबस्त गरेभन्दा बाहिर कोही पनि जान नमिल्ने बताए। यो राजाको शासन नभएकाले कसैको हुकुम नचल्ने उनको भनाइ छ । महामन्त्री थापाले रेशम चौधरीको बारेमा अदालतको पूर्ण पाठ नआइसकेको अवस्थामा अदालतलाई हेप्नुले जे गरे पनि हुन्छ भन्ने मानसिकता विकसित हुँदै गएको प्रमाणित भएको बताए । विधिको शासन वकालत गर्ने बेलामा सरकार परिवर्तन भएर केही फरक नपर्ने उनले उल्लेख गरे ।

उनले भने, ‘नेपालको कानुनले कुनै पनि विषयमा अदालतले निर्णय गरिसकेपछि अदालतको अन्तिम फैसला कसुरका सन्दर्भमा सजाय मिनाहा हुन्छ कि हुँदैन भनेर बन्दोबस्त गरेको छ । त्यो कानुनको बन्दोबस्तभन्दा बाहिर कोही पनि जान पाइँदैन । आज सरकारलाई मन लाग्यो, सरकारले निर्णय गरिदियो, राष्ट्रपतिले सजाय मिनाहा गरिदिनुभयो, यो राजाको शासन होइन, यहाँ हुकुम चल्दैन । यो गणतन्त्र हो । गणतन्त्रमा केवल कानुनमात्रै चल्छ । आज सरकार चलाउने कुरामा केही गाह्रो भयो भनेर हामीले प्रचलित कानुनलाई पनि मिचेर, थिचेर, बलमिच्याँइ गरेर, दादागिरी देखाएर कुनै निर्णय गर्छौँ । अदालतको पूर्ण पाठ आएको छैन । हामी हतार–हतार निर्णय गर्छौँ भने त्यसको अर्थ के हो ? हामीले अदालतलाई हेप्यौँ । हामीले बलमिच्याइँ गर्‍यौँ । हामीले जे गरे पनि हुन्छ भन्ने सोच्यौँ । हामीलाई अफ्ठ्यारो परेको बेलामा यस्ता कुरा चल्छन् भन्ने सोच्यौँ । तर नागरिकको ठाउँबाट हेर्दै गर्दा के देखिन्छ ? विधिको शासनको वकालत गर्दै गर्दा सरकार गए जान्छ, यस्ता सरकार गए जान्छन्, गएर केही पनि हुँदैन । अर्को सरकार बन्छ । केही फरक पर्दैन ।’

महामन्त्री थापाले नेपाली कांग्रेस सत्ता र सरकारमा लिप्त हुन थालेको पनि बताए । उनले आजका युवाहरूमा कांग्रेसप्रति निराशा हुनुको मूल कारण सत्ता र सरकारका लागि कांग्रेसले मरिमेट्नु रहेको उल्लेख गरे । पार्टीमा अब पनि यस्ता गल्तीहरू स्वीकारेर अघि नबढ्ने उनको भनाइ छ । महामन्त्री थापाले कांग्रेसले अब कहिल्यै पनि चुनावअघि गठबन्धन नगर्ने प्रतिबद्धता जनाए ।


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश
ट्याग : #gagan thapa, #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट