Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै माओवादी


काठमाडौं, १० चैत । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन आज फिर्ता लिने भएको छ।

बिहान ११ बजे संसदीय दलको बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ताबारे निर्णय गर्ने माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिए। केन्द्रमा सत्ता समीकरण बदलिएपछि माओवादीले गण्डकीमा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन लागेको हो।

नेकपा एमालेका खगराज अधिकारी मुख्यमन्त्री रहेको गण्डकी प्रदेश सरकारमा माओवादी दुई मन्त्रीसहित सहभागी छ। यो प्रदेशमा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थनपछि कसको नेतृत्वमा सरकार गठन गर्ने भन्नेबारे भने सहमति जुटिसकेको छैन।

प्रदेशसभा निर्वाचनका क्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री बनाउने आश्वासन दिएका थिए। तर यसअघि पनि प्रदेश सरकारको नेतृत्व गर्न नपाएको माओवादीले यसपटक आफूले सरकारको नेतृत्व पाउनुपर्ने दाबी गरिरहेको छ। माओवादी सांसदहरु संसदीय दलका नेता चुमानलाई मुख्यमन्त्री बनाउन पार्टी केन्द्रसँगको लबिङमा छन्। चुमानले भने केन्द्रमा प्याकेजमै हुने सहमति बमोजिम सरकारको नेतृत्वबारे निर्णय हुने भएकाले केन्द्रको निर्णय कुरेर बसिरहेको बताए।

६० सदस्यीय गण्डकी प्रदेशसभामा सबैभन्दा ठूलो दल कांग्रेसको २७ सिट छ। २२ सिटसहित एमाले दोस्रो, ८ सिटसहित माओवादी तेस्रो र २ सिटसहित राप्रपा चौथो ठूलो दलका रुपमा छन्।

यो प्रदेशमा मनाङबाट निर्विरोध निर्वाचित स्वतन्त्र सांसद दीपक मनाङे नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेसँगै समाजवादीको पनि एक सिट छ।


क्याटेगोरी : राजनीति, गण्डकी प्रदेश
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट