Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

राष्ट्रपतिको चुनाव लक्षित आठ दलको प्रदेशस्तरीय अभिमुखीकरण आजदेखि


काठमाडौं । राष्ट्रपतिको चुनावका लागि आठ दलले आजदेखि प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम सुरु गर्दै छन् । गठबन्धनले आज बाग्मती प्रदेश सभाका सदस्यका लागि अभिमुखीकरण कार्यक्रम गर्दैछ ।

यो कार्यक्रम काठमाडौंको नयाँ बानेश्वरमा रहेको एक होटलमा हुने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । आउँदो २५ गते हुने चुनावमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेस नेता रामचन्द्र पौडेललाई विजयी गराउन नेपाली कांग्रेसका उप सभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा अन्य राजनीतिक दलका प्रतिनिधिहरु रहनेगरी संयन्त्र गठन गरिएको छ ।

संयन्त्रको निर्णय अनुसार बाग्मतीसहित सबै प्रदेशमा अभिमुखीकरण कार्यक्रम हुनेछ । यसअघि हिजो गठबन्धनले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदका लागि शीर्ष नेताको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम गरेको थियो । राष्ट्रपति चुनावका लागि मनोनयनको अघिल्लो दिन गएको फागुन १२ मा आठदलीय गठबन्धन बनेको थियो । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले कांग्रेसका नेता रामचन्द्र पौडेललाई समर्थन गरेका छन् ।

आठदलीय गठबन्धन सकेसम्म मत क्रस हुन नदिने गृहकार्यमा छ । त्यसैअनुरुप २३ गतेसम्ममा प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभा सदस्यलाई काठमाण्डौमा उपस्थित हुन आठ वटै राजनीतिक दलले निर्देशन समेत दिएका छन् ।

राष्ट्रपति पदका लागि उम्मेदवारद्वय नेपाली कांग्रेसका नेता पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङ पनि आफ्नो पक्षमा मत माग्न व्यस्त छन्। नेम्वाङले हिजो नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहितका नेतासँग भेट गरेका थिए ।यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपासँग पनि मत मागेका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई लिखित पत्र पठाएर आ–आफ्नो उम्मेदवारको पक्षमा मत मागिसकेका छन् ।

एमाले अहिले तटस्थ रहेका केही साना दल र आठदलीय गठबन्धनबाट मत क्रस गराउने प्रयासमा देखिएको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट