Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

परिवर्तनलाई उल्ट्याउने कसरत भइरहेकाले सबै सचेत हुन आवश्यक : प्रधानमन्त्री प्रचण्ड


काठमाडौं, २९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनलाई उल्ट्याउने कसरत भइरहेकाले सबै सचेत हुन आवश्यक रहेको बताएका छन्।

सोमबार एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय समितिको छैटौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले अहिले पनि एकथरी मानिसहरू गणतन्त्रलाई, समावेशी समानुपातिक मान्यतालाई, देशका सबै उत्पीडित वर्ग, समुदायले पाएको अधिकारलाई खोस्न उद्धत रहेको दाबी गरे ।

उनले राष्ट्र र जनताप्रति इमान्दार भइरहेसम्म दुनियाँका कुनै शक्तिले पनि आफूहरूलाई पराजित गर्न नसक्ने बताए । प्रधानमन्त्री प्रचण्डले विस्तृत शान्ति सम्झौता र त्यसका हस्ताक्षर कर्ता वा नेतृत्व कर्तामाथि कसैले नकारात्मक सोच राखेर नकारात्मक क्रियाकलाप गरे त्यो सफल नहुने दाबी गरे ।

उनले विस्तृत शान्ति सम्झौतामाथि आफूविरुद्ध मुद्दा दर्ता हुँदा तरङ्ग पैदा भए पनि माओवादीलाई भने एकताबद्ध हुन मद्दत पुगेको बताए । उनले मुद्दा दर्तासम्बन्धी रिट पर्नुलाई आफूले शान्ति सम्झौतासम्बन्धी ऐनलाई अघि बढाउनुपर्ने कामका रूपमा लिएको बताए । प्रधानमन्त्री दाहालले अदालतको फैसला पनि शान्ति सम्झौता भन्दा बाहिर नगएकाले चिन्तित हुनुपर्ने अवस्था नरहेको जिकिर गरे ।

प्रधानमन्त्री प्रचण्डले सङ्घीय शिक्षा ऐन यही सदनमा प्रस्तुत गरी चाँडै पारित गर्ने प्रक्रियामा रहेको बताए । उनले मन्त्रिपरिषद् बैठकबाट जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायत सबै आन्दोलनका शहीदहरूलाई राष्ट्रिय शहीद घोषणा गरेको र उनीहरूको नाम राजपत्रमा प्रकाशित गर्ने निर्णय गरिएको जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘‘हामीले सङ्घीय शिक्षा ऐन जो सरकारमा शिक्षामन्त्री हाम्रै पार्टीबाट हुँदा नै त्यसको तयारी भएको थियो । सङ्घीय शिक्षा ऐनलाई यसै सदनमा प्रस्तुत गर्ने र छिटोभन्दा छिटो पारित गर्ने प्रक्रियामा रहेको छु । मैले भर्खरै मन्त्रिपरिषदबाट जनयुद्धका, जनआन्दोलन, मधेश आन्दोलन लगायत सबै आन्दोलनका शहीदहरूलाई राष्ट्रिय शहीद घोषणा गरेका छु र त्यसलाई राजपत्रमा प्रकाशित गर्ने निर्णय गरिएको छ ।’’ प्रधानमन्त्री प्रचण्डले सङ्घीय शिक्षा ऐन आफ्नो पार्टीका शिक्षामन्त्री हुँदा नै तयारी गरेको दाबी गरे ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot, #prachanda

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट