उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ वैदेशिक लगानी संस्थाका उपाध्यक्षबीच भेटवार्ता

काठमाडौं, २९ फागुन । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र वैदेशिक लगानीका लागि चिनियाँ सरकारको छाता संस्था काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेडका उपाध्यक्ष झाङ शाओगाङबीच सोमबार मन्त्रालयमा भेटवार्ता भएको छ।
भेटमा व्यापार तथा लगानी साझेदारीका विषयमा छलफल भएको थियो। त्यसक्रममा उपाध्यक्ष झाङलाई नेपालमा स्वागत गर्दै र भ्रमण सफलताको शुभकामना दिंदै उपप्रधानमन्त्री श्रेष्ठले चीन नेपालको दोस्रो ठुलो अन्तराष्ट्रिय व्यापार साझेदार मुलुक रहेको र नेपालमा लगानीमैत्री वातावरण भएकोले चिनियाँ लगानीको सधैँ स्वागत गरिने बताए ।
केरुङ र तातोपानी नाका व्यवस्थित बनाएर आयात तथा निर्यातलाई समेत सहज गर्नुपर्ने आवश्यकता उपप्रधानमन्त्री श्रेष्ठले औंल्याए। चीन नेपालको दोस्रो ब्यापारिक साझेदार मुलुक रहेको र चीन नेपाल ब्यापार घाटा धेरै भएकाले त्यसलाइ घटाउन आपसी समझदारीका आधारमा अघि बढनुपर्ने बताए ।
नेपालको एक चीन नीतिप्रतिको दृढता श्रेष्ठले दोहोर्याए। तेस्रो कार्यकालका लागि निर्वाचित चिनियाँ राष्ट्रपति सि जिनपिङ र नवनिर्वाचित प्रधानमन्त्री ली छ्याङलाई बधाई दिंदै कार्यकाल सफलताको शुभकामना समेत व्यक्त गरे ।
त्यसक्रममा उपाध्यक्ष झाङले झण्डै चारवर्ष लामो कोभिड संक्रमणले चीनको वैदेशिक लगानी तथा व्यापारमा असर परेपनि चीन अब कोभिडबाट खुल्ला र सहज भएको बताए। कोभिडका कारण चीन र नेपालबीच भ्रमण आदानप्रदान हुन नपाएको र त्यसबाट ब्यापारमा समेत असर परेको बताए। नेपाल आफूहहरूको पुरानो र नजिकको मित्र भएको र नेपालमा थप लगानीको निश्चितता गर्नु आफ्नो भ्रमणको उद्देश्य भएको उनले बताए ।
झाङले नेपालले ठूलो प्रविधियुक्त उद्योग(निर्माणको सोच बनाए त्यसमा चीनले खुलेर साथ दिने बताए। उपमन्त्री तहका चिनियाँ अधिकारी झाङ नेपालका लागि चिनियाँ राजदुत छन् सोङ हित भेटवार्तामा आएका थिए ।
क्याटेगोरी : राजनीति
ट्याग : #hot, #narayankaji shrestha
प्रतिक्रिया