Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

स्ववियु चुनावको नतिजा आउने क्रम सुरु


काठमाडौं । त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरुमा हिजो भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको नतिजा आउन थालेको छ ।

केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु सभापतिमा नेविसङ्घका श्यामराज ओझा निर्वाचित भएका छन् ।

थापाथली इञ्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिमा नेविसङ्घका विक्रम शाही तथा पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पस धरानको स्ववियु सभापतिमा नेविसङ्घका नवीन श्रेष्ठ विजयी भएका छन् ।

काठमाडौंको पुल्चोक इञ्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका विराज अर्याल विजयी भएका छन् ।

काठमाडौंको पिपुल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका रञ्जित भण्डारी र नर्सिङ क्याम्पस विराटनगरको स्ववियु सभापतिमा पनि अनेरास्ववियुकै प्रशंसा पौडेल विजयी भएका छन् ।

विराटनगरको स्नातकोत्तर क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका निर्मलप्रसाद गजुरेल विजयी भएका छन् ।

हिजो त्रिभुवन विश्वविद्यालयका २१२ वटा क्याम्पसमा स्ववियु चुनाव भएको हो । १४ वर्षपछि भएको चुनावमा ६० प्रतिशत विद्यार्थी मतदानमा सहभागी भएका छन् ।

सबैभन्दा धेरै विद्यार्थी रहेका त्रिचन्द्र बहुमुखी क्याम्पस, नेपाल कमर्स क्याम्पस मीनभवन, पाटन बहुमुखी क्याम्पस, अमृत साइन्स क्याम्पस, रत्नराज्यलक्ष्मी क्याम्पस, विश्वभाषा क्याम्पस र कोटेश्वर बहुमुखी क्याम्पसमा हिजो चुनाव हुन सकेन ।

त्यसैगरी पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पस, दार्चुलाका शङ्खरपुर क्याम्पस र लतिनाथ क्याम्पस, डोटीको डोटी बहुमुखी क्याम्पस तथा आठबीस शिक्षा क्याम्पसमा मतदान स्थगित भएको छ ।

बाजुरा क्याम्पसमा पनि विद्यार्थी सङ्गठनबीच झडप हुँदा मतदान प्रक्रिया स्थगित भएको छ । यसअघि नै स्थगित गरिएका १६ वटा क्याम्पसमा आउँदो ८ गते चुनाव हुने त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट