Techie IT
  • १० वैशाख २०८१, सोमबार
Jhilko

जालझेलको राजनीतिले अभिशप्त देश र जनता


हाम्रो देशमा जनतालाई पटक पटक नयाँ नेपालको सपना देखाउने र भजाउने काम सत्तामा पुगेका राजनीतिक दलहरुले गर्दै आए । जनताले साथ–सहयोग र समर्थन पनि दिँदै आए । तर हरेक पटक जनताले धोका पाए । परिवर्तनको मूल्य चुकाउने जनता जहिले पनि जिल्लाराम पर्नुपर्ने यो श्रृंखला निरन्तर जारी छ । यसको अन्त्य कहिले र कसरी हुने हो भन्न सकिने अवस्था अहिलेसम्म पनि छैन । वास्तवमा जालझेल र षड्यन्त्रको पुरानो सामन्ती र आधुनिक साम्राज्यबादी राजनीतिक परम्पराबाट देशलाई मुक्त गर्ने बीडो उठाउन अग्रसर भएका भनिएका राजनीतिक दलहरुले नै त्यही सामन्ती र साम्राज्यवादी राजनीतिक शक्तिकै उही पुरानो र सन्दर्भहीन जालझेलको गलत बाटो र सत्तामा निरन्तर आफ्नो बर्चश्व र पकड कायम गर्ने नीति अख्तियार गर्ने गरेपछि हरेक परिवर्तन पछि जनता रनभुल्लमा पर्ने गरेका हुन् । कुरा जे सुकै गरे पनि राजा, राणा, पटक–पटक सत्तामा पुगेर ढलिमली गरिरहेका राजनीतिक दल सबैका कुरा उस्तै रहेछन् भन्ने तीतो अनुभव जनताले गर्दै आएका छन् । पछिल्लो राजनीतिक परिवर्तनपछिको स्थिति पनि त्यो भन्दा भिन्न हुन सकेको छैन । अहिलेकै जस्तै मति र गतिले चल्ने हो भने भिन्न, उन्नत र वैज्ञानिक राजनीतिक स्थिति विकसित हुने कुनै संकेत र लक्षण पनि यतिबेला पटक्कै देखिदैँन ।

दलीय राजनीति परम्परागत सामन्ती राजनीति भन्दा उच्चस्तरको र जनतालाई सक्रिय बनाउने तथा जनताप्रति नै समर्पित हुने लोकतान्त्रिक मूल्य मान्यतालाई अंगीकार गरेर चल्ने राजनीतिक प्रणाली मानिन्थ्यो । त्यसैले त यसको परिभाषा नै ‘जनतनाद्वारा, जनताले, जनताका लागि’ शासन गर्ने प्रणाली भनिने गर्दै आएको हो । तर हामीकहाँ भने त्यो अपवाद नै हुँदै आएको छ । सत्तामा पुगेकाहरु मालिक र जनतालाई दास सरह मान्ने जुन गए बितेको सामन्ती र साम्राज्यवादी गलत परम्परा हो त्यही नै दलीय कलेबरमा कायम राख्ने गरिएकोले लोकतन्त्रलाई केवल ओठेभक्तिको विषय मात्र बनाउने गरिएको छ । यसको सार तत्वलाई तिलाञ्जली दिएर केबल बोक्रे कुरा मात्र गर्ने गरिएकाले नै वस्तुतः नेपालमा लोकतन्त्रले जरा जमाउन र सबल हुन नपाएको हो । पटक–पटक विभिन्न रुपमा एक वा अर्को बहानामा यसलाई अपहरण गर्ने, उल्टाउने र जनतालाई अधिकारबिहीन बनाउने कुटील षडयन्त्र चल्दै आएको कारण पनि यही नै हो ।

आजसम्मको सबैभन्दा ठूलो पछिल्लो राजनीतिक परिवर्तन पछि पनि सत्तामा रहे बसेका राजनीति दलहरुले जस्तो किसिमको औसरवादी बोली, व्यबहार र चरित्रको प्रदर्शन गरे र गरिरहेका छन् त्यसले गर्दा परिवर्तनका सीमित उपलब्धीहरु आज पनि गम्भीर खतरामा पर्दै गएका छन् । जनता निराश र आक्रोशित छन् । राजनीतिक नेतृत्व सत्ताको आडमा केवल आफ्नो मात्र विलाश र वैभवको संकीर्ण बाटोमा निर्लिप्त भएर लागेको देखेपछि जनतामा यस्तो भाव उत्पन्न हुनु बिल्कुलै स्वाभाविक कुरा हो । जनताले के आशा र अपेक्षा गरेका थिए भने विगतमा राजनीतिक दलहरुले जे जे गम्भीर गल्ती कमजोरी गरेको भए पनि अब त्यसो गर्ने छैनन् । अनि आउँदा दिनमा जनता र राष्ट्रको हितमा एक पछि अर्को अग्रगामी र उन्नत कदम चालेर नेपाली समाजको सर्बांगीण विकासको बाटो खोल्नेछन् । तर झण्डै डेढ दशकभन्दा बढी पुग्न लागेको राजतन्त्र अन्त्यपछिको देशको राजनीतिलाई भोगेका जनताले आफ्नो जीवनमा परिवर्तनको कुनै अर्थ लागेको देखेनन् ।

उन्नत राजनीतिक सँस्कृति र संस्कारको विकास कहिले हुने हो अहिलेसम्मको चालामाला हेर्दा भन्न सकिने अवस्था छैन । सबैभन्दा ठूलो चिन्ताको विषय नै आज यही भएको छ । यसले देशलाई असफलको अध्यारोतिरै धकेल्नेभन्दा अरु काम गर्दैन । नेपाली जनता खाशगरी मजदुर, किसान, महिला, यूवा–बिद्यार्थी, राष्ट्रिय पूँजीपति, दलित, आदिवासी, जनजाति, अल्पसंख्य, सीमान्तिकृत र लोपोन्मुख सबै तह र तप्काका जन समुदाय उच्चरूपमा सचेत, संगठित र संघर्षशील बनेर अघि नबढेसम्म यो देशले नयाँ दिशामा काँचुली फेर्ने कुरा किमार्थ सम्भव हुन सक्दैन । यो बर्तमान स्थितिको कटु र यथार्थ निचोड हो ।

मुकुट लाएका राजाको स्थानमा मुकुट नलाएका राजाहरुको झुण्ड बाहेक अरु केही सार्थक भिन्नता नेपाली जनताको भागमा परेन । यो आजको हाम्रो राष्ट्रिय राजनीतिको तीतो यथार्थ र अखण्डनीय वास्तविकता हो । दलहरु कहिले को कहिले को सत्तामा गए पनि चिन्तन र चरित्रमा कुनै परिवर्तन आएको जनता र देशले देख्न र पाउँन सकेनन् । फलतः पुराना सामन्ती राजनीतिक शक्तिहरुले एक वा अर्को किसिमले शीर उठाउने आधार र अवसर पाए र त्यसलाई बाह्य प्रतिकृयावादी शक्तिले पनि हावा दिने काम गर्यो । भिन्नरूपमा अहिले पनि गरिरहेको छ । परिवर्तन पछि पनि पुरानै शक्ति, प्रबृत्ति र परम्पराको हालीमुहाली भिन्नरुपमा चल्ने हो भने जनताका लागि त्यस परिवर्तनको के अर्थ रह्यो र ! तर अहिलेको चुनावी माहोल पनि त्यस्तै देखिन्छ । जनता लोभ, लालच, डर त्रास, धाक धम्की अनेक तिकडम गरेर जनताको मत कब्जा गर्ने कुरा नै चुनाव रहेछ भनेर बुझ्न पर्ने भएको छ । अभ्रष्ट, स्वच्छ र बिवेकशील जनताले चुनाव लडेर जित्ने सहास नै गर्न नसक्ने स्थिति विकसित गरिएको छ । चुनावका लागि उम्मेद्वारले खर्च गर्न सक्ने रकम नै निर्वाचन आयोगले नेपाली जनताको दुराबस्थाले धान्न नसक्ने हैसियतको निर्धारणा गरिदिएको छ । यसरी चुनाव सर्वसाधारणा जनताको पहुँचबाट बाहिर परेको छ । यसले अर्कोतिर उत्पादन र विकास बिनाको सम्पन्नता हासिल गरेका भ्रष्टाचारी, कमिशनखोर, सुदखोरहरूले मात्र चुनावमा बेहिसाव खर्च गर्ने र चुनावी खर्चको खातापाता मिलाएर देखाउने गरेको स्थिति अहिले बिद्यमान छ ।

हुन पनि हाम्रो देशमा २०६२/६३ को राजनीतिक परिवर्तन पछि देशमा १० जना प्रधानमन्त्री बने । परिवर्तनको मूल मुद्दा संविधान सभा मार्फत जनताद्वारा जनताका लागि जनताले संविधान बनाउने कुरामा ध्यान केन्द्रित गरिएको भए यस्तो एक पछि अर्को सरकार फेर्नु पर्ने स्थिति नै आउँदैनथ्यो । सविधान सभाको निर्वाचन हुनु अघि एक र संविधान सभाको निर्वाचन पछि अर्को केवल दुइजना प्रधानमन्त्री मात्र बन्न सक्ने र बन्नुपर्ने अवस्था रहन्थ्यो । तर हामीकहाँ त्यसो भएन । संविधान सभालाई ताकमा राखेर सत्ताको लुछाचुँडी यति तीब्र भयो कि लोकलज्जाकै लागि भए पनि लोकतान्त्रिक मूल्य, मान्यता, पद्दती, परम्परालाई अबलम्बन गर्नुपर्ने आवश्यकता पनि यो कालखण्डमा सत्तामा पुगेका दलहरुले देखेनन् । जोसँग जस्तोसुकै मूल्यहीन, अपबित्र र अवसरवादी सम्झौता गरेर भए पनि सत्ताको सिढी चढ्न पाए त्यसैलाई राजनीतिक पौरख मान्न थाले । जसले गर्दा जतिसुकै समय लम्ब्याउदै गएपनि संविधान बन्न सकेन । अन्ततः संनिधान सभा नै बिघटन हुन पुग्यो ।

यस्तो स्थितिमा त्यतिबेलासम्मको असफलताबाट सही पाठ सिकेर बिवादास्पद र बिभाजित दोश्रो संविधान सभाबाट नियत समयमै संविधान देलान् कि भन्ने झिनु आशा पनि सत्ता र प्रमुख प्रतिपक्षमा पुगेका दलहरुले तुहाए । अनेक हौवा खडा गरेर जनता र देशलाई अल्मल्याउने कुरा बारम्बार गर्दै रहे र अन्ततः निरर्थक किसिमले समय गुजारे । त्यतिबोल एकदमै छुद्र र तल्लो स्तरमा उत्रिएर सत्ता र प्रतिपक्षका नेताहरु परस्पर गाली गलौज र आरोप पत्यारोप गरिरहे । गलत कुरा गर्ने पुराना सबै कीर्तिमानलाई पार गरे । यसले गर्दा जनताले दलहरुलाई झन बढी अबिश्वास गर्ने वातावरण स्वयम् उनीहरुले नै यसरी निर्माण गरिरहे । यथार्थतः गलत बाटो हिँडेपछि र पाखण्ड प्रदर्शन गर्दै गए पछि त्यसको परिणाम पनि गलत नै निस्कने कुरा स्वाभाविकै थियो । अहिले त्यसै भइरहेको छ । सही निष्ठा, मूल्य, मान्यता, पद्धति र प्रतिबद्धताबिहीन भएर चल्दा आउने परिणाम नै वास्तवमा यस्तै हो ।

अवश्य नै २०६/६३ को आन्दोलनले देश र जनताका जुन मुद्दाहरुलाई प्रकट, अप्रकटरुपमा मुखरित गरेको थियो ती अत्यन्तै दूरगामी महत्वका थिए र छन् । तर तिनलाई अझ प्रष्टसँग उजिल्याउने, संस्थागत गर्ने र मान्य तुल्याउने दिशामा अग्रसर हुनुका साटो उल्टै तिनबाट भाग्न खोज्ने, पछि फर्कने र प्रतिगामी दिशातर्फ जान तयार हुने र अझ प्रतिकृयवादी र हस्तक्षेपकारी बाह्य शक्तिका अगाडि लम्पसार पर्ने जस्ता अबाञ्छित र राष्ट्रहित बिपरितका गतिबिधिहरु निर्वाध तीब्र भइरहेका छन् । अर्कोतिर त्यस संक्रमणकालमा सत्तामा पुगेका कुनै पनि दलका नेताहरुको छबि स्वच्छ र निष्कलंक देख्न पनि जनताले पाएनन् । तिनले गणतन्त्रात्मक लोकतन्त्रको गौरव र गरीमालाई सम्मान गर्ने चरित्र पटक्कै देखाउन नसकेको साँच्चो हो । यी सबै कुरा र गतिबिधिबाट के प्रष्ट हुन्छ भने जालझेल र षड्यन्त्रको राजनीतिबाट मुलुक र जनताको हित किमार्थ हुँदैन । बरू भित्री कमजोरी र बाह्य हस्तक्षेपको अबाञ्छित शिकार देश र जनता बन्न जान्छन् र बनिरहेका छन् ।

त्यसैले जालझेलको राजनीतिबाट मुक्त हुनु पर्ने कुरा अघि सार्दै र सार निकाल्दै धेरै पहिला क. पुष्पलालले भन्नु भएको थियो कि ‘राजनीति जालझेल होइन, वास्तविक बस्तुस्थितिका आधारमा बर्गीय विश्लेषणको निचोड हो’। आज पनि देश र जनताका लागि सार्थक दिशामा अघि बढ्ने हो उहाँको यो भनाइ उत्तिकै सान्दर्भिक र मननीय छ । तर त्यो पनि ‘बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड’ मात्रै हो । उन्नत राजनीतिक सँस्कृति र संस्कारको विकास कहिले हुने हो अहिलेसम्मको चालामाला हेर्दा भन्न सकिने अवस्था छैन । सबैभन्दा ठूलो चिन्ताको विषय नै आज यही भएको छ । यसले देशलाई असफलको अध्यारोतिरै धकेल्नेभन्दा अरु काम गर्दैन । नेपाली जनता खाशगरी मजदुर, किसान, महिला, यूवा–बिद्यार्थी, राष्ट्रिय पूँजीपति, दलित, आदिवासी, जनजाति, अल्पसंख्य, सीमान्तिकृत र लोपोन्मुख सबै तह र तप्काका जन समुदाय उच्चरूपमा सचेत, संगठित र संघर्षशील बनेर अघि नबढेसम्म यो देशले नयाँ दिशामा काँचुली फेर्ने कुरा किमार्थ सम्भव हुन सक्दैन । यो बर्तमान स्थितिको कटु र यथार्थ निचोड हो ।


क्याटेगोरी : बिचार, राजनीति
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट