शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने कामबाट भाग्ने छुट छैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शान्ति प्रक्रियाका बाँकी कामलाई छिटो भन्दा छिटो टुङ्गोमा पुर्याउनुपर्ने बताएका छन् । महामन्त्री थापाले भविष्यमा यसले थप जटिलता निम्त्याउने उल्लेख गर्दै तत्काल शान्ति प्रक्रियाका बाँकी कामलाई टुङ्गोमा पुर्याउनुपर्ने बताएका हुन् ।
मङ्गलवार काठमाडौंमा आयोजित ‘नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले शान्ति प्रक्रियाका बाँकी कामलाई टुङ्गोमा पुर्याउन ढिलासुस्ती गरे वा पीडितको भावनामाथि चोट पुर्याउने काम गरे त्यो कसैलाई पनि मान्य नहुने चेतावनी दिए । महामन्त्री थापाले तत्कालको नाफाघाटाभन्दा बाहिर निस्केर शान्ति प्रक्रियाका बाँकी कामलाई टुङ्गोमा पुर्याउन सबै राजनीतिक दललाई आग्रहसमेत गरे । शान्ति प्रक्रियालाई पूर्णता दिँदा पीडितको भावनामाथि चोट पुर्याउने र अन्तर्राष्ट्रिय मूल्य, मान्यता विपरीत जान नहुने उनको भनाइ थियो ।
महामन्त्री थापाले राजनीतिक दलहरूलाई यो वा त्यो बहानामा शान्ति प्रक्रियाको कामलाई टुङ्गोमा पुर्याउने कामबाट भाग्ने छुट नभएको पनि पटक–पटक दोहोर्याएका थिए । गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरु भएको शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने कामको नेतृत्व कांग्रेसले नै लिनुपर्ने पनि उनले बताए ।
कार्यक्रममा बोल्दै महामन्त्री थापाले तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्व सरकारले लिएको आर्थिक नीतिकै कारण देश आजसम्म टिकेको दाबीसमेत गरे। उनले कोइरालाले लिएको आर्थिक नीतिबाटै देश टिके पनि उहाँमाथि त्यसको जस नदिएर अन्याय गरेको उनको बुझाइ थियो । महामन्त्री थापाले नागरिकलाई आशावादी बनाउने गरी काम गर्न सरकारलाई सचेत गराए ।
क्याटेगोरी : राजनीति
ट्याग : #gagan thapa
प्रतिक्रिया