Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

केपी ओली पनि संवैधानिक राजतन्त्र ल्याउने पक्षमा रहेको दुर्गा प्रसाईको दाबी


दमक, २३ चैत । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको नेतृत्वकर्ता दुर्गा प्रसाईले झापाको दमकमा आयोजित कार्यक्रममा केही नयाँ र गम्भीर खुलासा गरेका छन् । बुधबार उनले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पनि संवैधानिक राजतन्त्र ल्याउने पक्षमा रहेको दाबी गरेका हुन् ।

प्रसाईले त्यति मात्रै भनेनन्, केपी शर्मा ओलीले आफू हिन्दु राष्ट्र स्थापना र संघीयता खारेज गर्ने पक्षमा रहेको बताउने गरेको दाबी पनि गरे । ओलीसँगको सल्लाहमै झापाको मेची पुलमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई ल्याएर कार्यक्रम गरिएको पनि प्रसाईको दाबी छ ।

उनले आफ्नै मोबाइलबाट ओली र पूर्वयुवराज पारस शाहको कुरा गराएको पनि जिकिर गरे ।‘केपी ओलीज्यूकै सल्लाहमा मैले राजा ज्ञानेन्द्रलाई मेची पुलमा ल्याएको हो,आज मैले दमकमा आएर सत्य कुरा गर्नुपर्छ । मेरै फोनबाट पारस सरकारसँग कुरा भएको हो केपी ओलीज्यूको । त्यो पनि मैले सत्य बोल्नैपर्छ । म पनि आउँछु त्यहाँ भन्नुभएको थियो’, उनको भनाइ थियो ।

प्रसाईले अगाडि भने, ‘मैले पनि होला भन्ने लागेर राजालाई बोलाइहालेँ । राजा पनि आउने हुनुभयो । सबै गरेपछि अहिले राजा नल्याऊ न नाति भन्नुभयो । मेरो पनि इज्जतको कुरा हो नि । म पनि कुमाई परिवारकै मान्छे हो । आठराईको पानी खाएको । अनि फर्किने कुरा भएन । अहिले दमकमा आएर यो दुःखको कुरा भन्नु परेको छ । मेरा हजुरबुबालाई भन्नुपर्छ ।’

प्रसाईले मेची पुलमा पूर्व राजा आएकै दिन एमाले अध्यक्ष ओली पनि झापा आएको स्मरण गरे । ‘राजा मेची जाँदा हजुरबा पनि दमक त आउनु भएकै हो नि १ तर कसोकसो गर्दा उहाँ कार्यक्रममा आउनु भएन । त्यसपछि हिक्मत कार्की, थापा दाजुभाइले दुर्गा प्रसाईलाई कारबाही गर्नुपर्छ भनेर दबाब दिएछन् । त्यो थाहा पाउने वित्तिकै मैले हजुरबुबालाई तपाईको झोला चाहिँदैन भनेर केन्द्रीय सदस्य छोडेको हुँ,’ उनले भने ।

ओलीकै गृहनगरमा झन्डै १ घण्टा भाषण गरेका प्रसाईले ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेसका सभापति शेरबहादुर देउवालगायतको मात्रै आलोचना गरेनन्, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई ‘दलाल’ भन्नसमेत भ्याए । उनले गभर्नर अधिकारीकै कारण देश टाट पल्टिँदै गएको दाबी गरे ।

अर्को प्रसंगमा प्रसाईले प्रदेशको नाम किराँत–लिम्बुवान राज्य बीचमा मिलाएर खस राज्य बनाउँदा हुने पनि बताए । ‘मेरो त संघीयतै खारेज गर्नुपर्छ भन्ने हो । यदि सकिँदेन भने किराँत–लिम्बुवान राज्य बीचमा मिलाएर खस राज्य बनाउँदा हुँदैन रु सकेसम्म हामी मिलेर बाँच्न पाए भएन रु,’ उनले भने ।

 


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट