Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सरकारले स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउने प्राथमिकता दिएको छ : प्रधानमन्त्री प्रचण्ड


काठमाडौं, २४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले स्वास्थ्य सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाउने कार्यलाई प्राथमिकता दिएको बताएका छन् । आज ७५औँ विश्व स्वास्थ्य दिवसका अवसरमा भिडियो सन्देश दिँदै प्रधानमन्त्री प्रचण्डले स्वास्थ्यमा सर्वव्यापी पहुँचको अवधारणलाई व्यावहारिक बनाउन प्राथमिक स्वास्थ्य सेवाको विस्तारमा जोड दिइएको बताए ।

उनले नेपालले स्वास्थ्यसम्बन्धी राष्ट्रिय रुपमा तय गरेका लक्ष्य, दिगो विकासका लक्ष्य र अन्तर्राष्ट्रिय मञ्चमा गरेका विभिन्न प्रतिबद्धताहरु पूरा गर्न आवश्यक नीति, रणनीति तथा कार्यायोजना बनाई प्रभावकारी कार्यान्वयनमा जोड दिइएको पनि बताए ।

प्रधानमन्त्री प्रचण्डले सन्देशमा अगाडि भनेका छन्, “स्वास्थ्य जीवनशैलीको प्रवर्द्धन, नसर्ने रोगहरुको नियन्त्रण तथा रोकथाम र महामारी तथा प्रकोपको प्रतिकार्यका लागि स्वास्थ्य प्रणालीलाई थप सुदृढ बनाउन निरन्तर लागिपरेका छौँ ।”

विगत केही दशकयता स्वास्थ्यका क्षेत्रमा नेपालले अनुकरणीय प्रगति हासिल गरेको उनले बताए । “नेपालमा मातृ तथा बालस्वास्थ्यमा सुधार भएको छ, केही सङ्क्रामक रोगको निवारण गर्न सफल भएका छौँ र नेपाली जनताको औसत आयुमा उल्लेख्य वृद्धि भएको छ”, उनको सन्देशमा उल्लेख गरिएको छ । उनले सामाजिक न्यायसहितको समृद्ध हासिल गर्दै जनताको जीवनस्तरमा परिवर्तन ल्याउन सकेमात्र गुणस्तरीय स्वास्थ्यको नारा र संविधानमा व्यवस्था भएको अधिकारलाई कार्यान्वयन गर्न सकिने बताए ।

प्रधानमन्त्री प्रचण्डले नेपालले स्वास्थ्य क्षेत्रमा आवश्यक बजेट, कार्यक्रम प्रणाली, संरचना, उपकरण र दक्ष स्वास्थ्यकर्मीको परिचालन र व्यवस्थापनमार्फत स्वस्थ र निरोगी नेपालको लक्ष्य लिएको बताए । “यो लक्ष्य पूरा गर्न हाम्रा संरचनाहरु क्रियाशील छन् । यद्यपि स्वास्थ्य क्षेत्रमा कतिपय उपलब्धि हासिल गरे पनि गुणस्तरीय स्वास्थ्य सेवामा आम जनताको पहुँचका लागि अझै धेरै काम गर्न बाँकी छ”, उनले भने, “स्वास्थ्य संरचनाको सुदृढीकरण, जनशक्ति व्यवस्थापन र सामुदायिक स्वास्थ्यको प्रवर्द्धन जरुरी छ ।”

उनले स्वास्थ्यका बाँकी काम पूरा गर्नका लागि सरकारका सबै मन्त्रालय र मातहतका कार्यालय, सरोकारवाला सङ्घसंस्था तथा बहुक्षेत्रीय निकायबीच समन्वय र सहकार्यलाई थप बलियो बनाउन आवश्यक रहेको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले जनस्वास्थ्यका क्षेत्रमा हासिल गरिएका सफलतालाई स्मरण गर्दै वर्तमान र भविष्यका स्वास्थ्य चुनौतीलाई सम्बोधन गर्ने अवसरका रुपमा मनाउन सबैमा आह्वानसमेत गरे । नेपालमा पनि ‘सबैका लागि स्वास्थ्य’ भन्ने नाराका साथ दिवस मनाइँदै छ ।


क्याटेगोरी : राजनीति, स्वास्थ्य
ट्याग : #prachanda

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट