Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

अयोग्य लडाकुहरूलाई पैसा दिने सरकारको निर्णयमा कांग्रेसका सांसद प्रदीप पौडेलको आपत्ति


काठमाडौं, १५ वैशाख । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले पूर्व अयोग्य लडाकुहरूलाई पैसा दिने सरकारको निर्णयमा आपत्ति जनाएका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत सांसद पौडेलले अयोग्य लडाकुहरूलाई पैसा दिने निर्णय संसद्लाई समेत जानकारी नगराई भित्र भित्रै आर्थिक सहायता दिने कार्यविधि अपारदर्शी भएको बताउँदै आपत्ति जनाएका हुन्।

उनले गत चैत ८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वयंले अयोग्य लडाकुहरूलाई पैसा दिने निर्णय नभएको बताएको उल्लेख गर्दै देशमा आर्थिक संकटको समयमा पनि सरकारले प्राथमिकता छनोट गर्न नसकेको स्पष्ट हुने बताए।

‘सरकारको काम कारवाही अत्यन्तै अपारदर्शी भएको र यो आर्थिक संकट को समयमा पनि सरकारले प्राथमिकता छनोट गर्न नसकेको भन्ने प्रष्ट देखाउँछ। एकातिर, केही सूचकाङ्कमा मौसमी सहजता देखिए पनि आर्थिक संकट सुधार आइनसकेको विज्ञहरूले बताइरहेका छन्,’ पौडेलले भनेका छन्, ‘अर्कोतिर, सरकारले वित्तीय व्यवस्थापन गर्न नसकेको, साधारण खर्च पनि धान्न नसकेर पेन्सन समेत दिन नसकेको विषय सार्वजनिक भइरहेका छन्। यस्तो विषम परिस्थितिमा समेत अनावश्यक निर्णय गर्ने, जनताका आवश्यकता छुट्याउन नसक्ने, र आर्थिक समस्या समाधान गर्न दीर्घकालीन योजना बनाउन नसक्नुले सरकारको अक्षमताका संकेत देखाउन थालिसकेको छ।’

उनले अहिले चुलिँदै गएको आर्थिक संकटलाई तत्काल हल गर्दै दीर्घकालीन समाधान खोज्नका लागि सबै सरोकार निकायसँग व्यापक छलफल र सहकार्य गर्न आवश्यक रहेको बताएका छन्।

‘आम जनतामा बढेको निराशा र आक्रोशलाई संवेदनशील भएर गम्भीरताका साथ सम्बोधन गर्न सरकारलाई आग्रह गर्न चाहन्छु,’ पौडेलले भनेका छन्।

 


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट