Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

देउवाको एकल निर्णय भयो, अव कांग्रेसमा दुई गुट सकृय: गगन थापा


काठमाडौं, १९ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा गलत निर्णयको श्रृङ्खला बढिरहेको बताउँदै त्यसविरुद्ध प्रतिकारमा उत्रिने बताएका छन्। रेशम चौधरीको माफी प्रकरण, संसद विकास कोष र नागरिकताको विधेयकजस्ता विषय उठाउँदै थापाले ती दुवै पार्टी सभापति देउवाको एक्लो निर्णय भएको आरोप लगाए।

‘यी सब सभापति एक्लैले गरेको निर्णय हो। मैले पछि थाहा पाएँ। मैले सहदै आएँ। अब मैले बदल्ने भनेको नसहने हो,’ प्रेस युनियनको कार्यक्रममा सम्बोधन गर्दै महामन्त्री थापाले भने, ‘लडेर रोक्ने हो, जुधेर रोक्ने हो। नभए यस्ता गलत निर्णय फेरि हुन्छन्।’

थापाले अब पार्टीभित्रको गुट भत्काउन लागिपर्ने बताए। ‘कुनै गुटले मलाई उम्मेदवार बनाउन सक्दैन,’ थापाले भने। सभापतिले पार्टी एकलौटी हिसाबले चलाएको आरोप लगाउँदै उनले केन्द्रीय समिति बैठक डाक्ने र विभाग बनाउने जिम्मेबारीबाट देउवा पन्छिएको धारणा व्यक्त गरे।

‘टिकटका लागि माथि हेर्नुपर्ने अहिले। त्यसैले माथि फर्केको पार्टीलाई तल घोप्ट्याउनुपर्‍यो। पार्टीको पद्धति यसरी बिग्रेको छ कि कुनै निर्णयमा महामन्त्रीलाई सोध्दै नसोध्ने !’ गगनले भने, ‘महिनौं केन्द्रीय समिति बोलाउँदै नबोलाउने।’

चुनाव जितेको कांग्रेस अबको चुनावमा गयो भन्ने सबैतिर सुनिन थालेको गगनले बताए। उनले कांग्रेसप्रति किन यस्तो भयो भनेर तल ग्राउन्ड लेभलमा बुझ्न आवश्यक रहेको बताए।

‘कांग्रेसलाई हेर्दा वर्तमानको समस्या हल गर्ने, भविष्यमा परिवर्तन हुन्छ भन्ने भरोसा दिने पार्टी हुनुपर्छ,’ गगनले भने, ‘आजको समस्या हल गर्न नसकेर विश्वास गुमाएको मात्र हो काँग्रेस। भोट पाएको, विश्वास गुमाएको पार्टी। विश्वास पुनर्स्थापनाका लागि कांग्रेसलाई बदल्ने हो। म कांग्रेस बदल्ने भनेर लाग्दा म आफैँबाट बदल्नुपर्छ।’


क्याटेगोरी : राजनीति
ट्याग : #congress, #gagan thapa, #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट