Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

प्रधानमन्त्री दाहाल भारत भ्रमणमा जानु केही घण्टा अघि मात्रै किन विधेयक प्रमाणीकरण भयो ?: लिङ्देन


काठमाडौं, २१ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नागरिकता विधेयकलाई संसद् बैठकको प्रक्रियाबाट टुङ्गो लगाउनुपर्ने माग गरेका छन्। प्रतिनिधि सभा बैठकमा आज धारणा राख्दै उनले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत भ्रमणको क्रममा भारतको नयाँ संसद् भवनमा राखिएको भारतको नक्सामा समावेश गरिएको नेपाली भूमिबारे संसद्को रोष्टममा आएर जवाफ दिनुपर्ने उनले माग गरे । यसअघि एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेपछि अध्यक्ष लिङदेनले पनि बोल्नका लागि समय मागेका थिए । त्यसक्रममा उनले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा आपत्ति जनाउँदै त्यसलाई तत्काल संसदमा ल्याएर प्रक्रिया अघि बढाउन माग गरे ।

राष्ट्रपति संस्था भएको र मुलुककै अभिभावक भएकाले सरकारको निर्देशनमा काम गर्न नमिल्ने भन्न्दै अध्यक्ष लिङ्देनले प्रधानमन्त्री दाहाल भारत भ्रमणमा जानु केही घण्टा अघि मात्रै किन विधेयक प्रमाणीकरण भयो भनेर जिज्ञासा राखे । अध्यक्ष लिङदेनले भने, ‘बाबुआमा नागरिक भएका तर छोराछोरी नागरिकता पाउनबाट वञ्चित भएका हजारौँ उमेर पुगेका नागरिकले नागरिकता पाउनु पर्छ उनीहरूको लागि चाँडोभन्दा चाँडो नागरिकता ऐनमा संशोधन हुनुपर्छ तर पछिल्लो दिनमा जुन प्रक्रियाबाट नागरिकता विधेयक प्रमाणीकरण गरियो, त्यो बेठिक छ उनले भने ।

हामी भन्न चाहन्छौँ, चाँडोभन्दा चाँडो यसलाई प्रक्रियामा ल्याउनुपर्छ । यही संसदबाट यसलाई अगाडि बढाउनुपर्छ । “राष्ट्रपति मन्त्रीपरिषद्को कारिन्दा होइन । मन्त्रीपरिषद्को आज्ञापालक पनि होइन” अध्यक्ष लिङदेनले भने, “यत्रो दिन किन यो नागरिकता विधेयक प्रमाणीकरण गर्नु परेन ? भारत भ्रमण गर्नुभन्दा ठीक अगाडि अगाडि किन प्रमाणीकरण भयो ?”

भारतको संसद् भवनमा अखण्ड भारतको नक्सा राखिएको छ, त्यसमा छलफल भयो कि भएन प्रधानमन्त्रीले संसद् बैठकमा जानकारी गराउनुपर्ने उनले बताए। नेपालको भूमि लुम्बिनी, कपिलवस्तु समावेश गरेर प्रकाशित गरिएको नक्सा नेपालको विरुद्धमा छ, त्यसबारेमा के छलफल भयो ? उनले जिज्ञासा राखे ।


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #rajendra lingden

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट