Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

राष्ट्रहितको पक्षमा सरकारले काम गर्न सकेनः केपी ओली


काठमाडौं, २७ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको राष्ट्रियता तथा राष्ट्रहितको पक्षमा सरकारले काम गर्न नसकेको बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमा देशको हितमा ठोस सहमति हुन नसकेको उनको भनाइ छ ।

काठमाडौंमा शनिबार आयोजित पार्टी निकट नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलामा उनले सो कुरा बताएका हुन् । सरकारले देशको हितमा केन्द्रित भएर काम गर्नुपर्ने उनले सुझाव दिए । सरकारले फुकोट–कर्णाली जलविद्युत आयोजना निर्माण कार्य गर्न भारतलाई सित्तैमा सुम्पेर गल्ती गरेको पनि उनले आरोप लगाए। वर्तमान सरकारसँग विकासको खाका र योजना नरहेको पनि उनले टिप्पणी गरे ।

वर्तमान सरकारबाट मुलुकको विकास सम्भव नरहेको भन्दै उनले आगामी निर्वाचनमा एमालेलाई बहुमत दिएर सहयोग गर्न उनले सबैसँग आग्रह गरे। देशको विकास र आर्थिक समृद्धिको खाका एमालेसँग मात्रब रहेको उनको भनाइ छ । उनले भने ‘देशलाई नै अहिले ग्रहण लागेजस्तो भएको छ । विकास र आर्थिक समृद्धिको काम ठप्प छ । उत्पादन वृद्धिदर २ प्रतिशत पनि नपुग्ने अवस्थामा छ ।’

आफ्नो नेतृत्वको सरकार रहेका बेला उत्पादन वृद्धिदर ७ दशमलव १ प्रतिशत पुगाएको उनले चर्चा गरे । अहिले झरेर त्यो २ भन्दा तल झरिसकेको उनले बताए । “मैले २०७६ सालमा फुकोट कर्णाली आयोजना एकदमै सस्तो छ । नदीबाट ४८० मेघावाट विद्युत निकाल्न सकिन्छ । र त्यो आयोजना नेपाल आफैले बनाउँछ मैले निर्णय गराएको थिएँ । अहिले प्रधानमन्त्रीले किस्तीमा राखेर भारतलाई सुम्पेर आउनुभएको रहेछ” अध्यक्ष ओलीले थपे, “नेपाललाई दशा लगाउने काम भइरहेको छ, समस्या समाधानभन्दा बल्झाउने काम भइरहेको छ ।”

देशको विकासको काम गर्न छाडेर सत्तापक्षले एमालेलाई घेराबन्दीमा राख्ने काम गरिरहेको उनको आरोप छ । एमालेलाई कहीँकतै कसैले कुनै हिसावले पनि कमजोर पार्न नसक्ने उनले जिकिर गरे । “पार्टी फुटाएर, सरकारबाट ढालेर अनेक गर्दा पनि एमाले जस्ताकोतस्तै छ । आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउनु पर्छ” उनले भने । कर्मचारीहरुलाई मुस्कानसहितको जनसेवाका काममा जुटन पनि अध्यक्ष ओलीले आग्रह गरे ।


क्याटेगोरी : राजनीति
ट्याग : #kpol i

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट