लेनिनले क्रान्तिमा दुई कार्यनीतिको कुरा गर्नुभयो, तर उहाँले दस्तावेजमा लेखेजस्तो नभइ नेपालमा मौलिक क्रान्ति भयोः प्रचण्ड
![](https://archive.jhilko.com/wp-content/uploads/2023/06/Prachandajee.jpg)
दाङ, ३१ जेठ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी क्रान्तिको तयारीका लागि समाजवादी संयुक्त मोर्चा बनाउने तयारी भइरहेको बताएका छन्।
माओवादी केन्द्र दाङ जिल्ला समन्वय समितिद्वारा बुधबार आयोजित अगुवा कार्यकर्ता भेलामा प्रधानमन्त्रीले समाजवादी मोर्चा हुँदै नयाँ नेकपासम्म पुग्नेगरी पहलकदमी लिइएको बताएका हुन्।
‘समाजवादी क्रान्ति सिधा र सरल हुँदैन। यसले आफ्नो मौलिकता र नियमसहित बाटो लिन्छ। विचार राजनीतिमा व्यापक छलफल, ठूलो ध्रुवीकरण र एकतासहित समाजवादी क्रान्ति हुन्छ। त्यो हाम्रै पहल र हाम्रै नेतृत्व हुन्छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘नेकपा जन्माउने विचार र प्रयोग पनि हाम्रो पहल थियो। त्यो आत्मसमर्पण र बिसर्जनको बाटो थिएन। समाजवादको आधार तयार पार्ने महान् उद्देश्यमा आधारित थियो। त्यसका लागि उक्त एकता गरिएको थियो।’
हिजोको एकता कायम राख्न सम्भव नभएको उल्लेख गर्दै फेरि एकताका लागि पहल गर्नुपर्ने बताए। ‘समाजवादी मोर्चाको दस्तावेज टुंग्याएका छौँ। हाम्रो पार्टी, माधव नेपाल, बाबुराम भट्टराई, विप्लव, वामदेव गौतम, उपेन्द्र यादवहरूले नेतृत्व गरेका शक्तिबीच केही दिनमा समाजवादी मोर्चा घोषणा हुन्छ। तल्लो तहसम्म समाजवादी मोर्चा बन्छ। एमालेमा पनि एकताका पक्षधरहरू छन्। उनीहरूको नेतृत्व परिवर्तन भएमा एमाले पनि एकताको पक्षमा आउँछ। त्यहाँ मुख्य नेतृत्व नै मूल रूपमा एकताको बाधक देखिन्छ।’
फेरि नेकपा बनाउने कोसिस भइरहेको जानकारी उनले दिए। ‘यसभित्र ठूलो अर्थ छ। जनताको ठूलो हिस्सालाई संगठित नगरी समाजवादी क्रान्तिको आधार तयार पार्न सकिँदैन, यसलाई सबैले गम्भीर रूपमा सोच्न जरूरी छ’, प्रधानमन्त्रीले भने, ‘देशका सच्चा वामपन्थी र कम्युनिस्टहरूबीच एकताका लागि व्यापक बहस चलाउँछौँ।’ आफूहरूले गरेको क्रान्ति मौलिक र जीवन्त भएको दाबी गर्दै उनले किताबमा लेखेजस्तो होइन, आफ्नै जीवनको अनुभवका आधारमा क्रान्ति गरिएको बताए।
‘हाम्रो क्रान्ति विश्वमै मौलिक खालको छ’, प्रधानमन्त्रीले भने, ‘लेनिनले क्रान्तिमा दुई कार्यनीतिको कुरा गर्नुभयो। तर, उहाँले लेखेजस्तै दस्तावेजमा भनिएजस्तो क्रान्ति भएन। मौलिक भयो। किताबमा लेखेजस्तो होइन, जीवनमा भोगेजस्तो क्रान्ति भयो। लेनिनले फेब्रुअरी क्रान्तिलाई पुँजीवादी क्रान्तिका रूपमा संश्लेषण गर्नुभयो।’
नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको दस्तावेजले समाजवादी क्रान्तिको दिशानिर्देश गरेको उनको भनाइ छ। ‘त्यसमा समाजवादको नेपाली विशेषता र मौलिकतासहित क्रान्तिको आधार तयार पार्ने संश्लेषण गरिएको छ’, उनले भने।
भ्रष्टाचारलाई निर्मूल पारेर मात्र देश निर्माण तथा पार्टी पुनर्निर्माण गर्न सकिने उल्लेख गर्दै उनले भ्रष्टाचार नियन्त्रण गर्ने सवालमा कसैसँग सम्झौता नगर्ने दाबी गरे।
क्याटेगोरी : राजनीति
ट्याग : #prachanda
प्रतिक्रिया