Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

चीनियाँ प्रधानमन्त्री लिको प्रस्तावमा नयाँ सरकारका मन्त्री र उच्च अधिकारीको नाम अनुमोदन


सांघाई । १४औँ राष्ट्रिय जनकंग्रेस (एनपीसी)को चालु अधिवेशनले चीनको नयाँ सरकारलाई पूर्णता दिएको छ। शुक्रवार जनकंग्रेसले राष्ट्रपतिमा सि चिनफिङलाई तेस्रो कार्यकालका लागि निर्वाचित गरेको थियो।

त्यस्तै, उनलाई केन्द्रीय सैन्य आयोगको अध्यक्षमा पनि एनपीसीको जारी अधिवेशनले निर्वाचित गरेको थियो। आगामी पाँच वर्ष चीनको राज्यसत्ता सञ्चालनको जिम्मासहित शनिवार मात्र प्रधानमन्त्रीमा लि छियाङलाई निर्वाचित गरेको एनपीसीले आइतवार बाँकी सरकारका मन्त्री तथा उच्च अधिकारीको टुंगो लगाएको हो।

एनपीसीले उपप्रधानमन्त्रीहरुमा तिङ स्वसियाङ, ह लिफङ, झाङ क्वोछिङ र लि क्वोझोङलाई निर्वाचित गरेको छ। यस्तै, लि साङ्फू, वाङ स्याओहोङ, वु चङलोङ, सन यिछिन र छिन काङलाई स्टेट काउन्सिलरको रुपमा निर्वाचित गरेको छ।

त्यस्तै, स्टेट काउन्सिलको महासचिवमा वु चनलोङ निर्वाचित भएका छन्। यसैगरी, एनपीसीले नयाँ मन्त्रिपरिषद्का सदस्यहरुको नाम पनि टुंग्याएको छ। जसमध्ये छिन काङ विदेशमन्त्री, लि साङपू रक्षामन्त्री बनेका छन्।

राष्ट्रिय विकास तथा सुधार आयोगको प्रमुखमा चङ सानचेइ, शिक्षामन्त्रीमा हुआइ चिनपङ, विज्ञान तथा प्रविधिमन्त्रीमा वाङ चिकाङ निर्वाचित भएका छन्।

जिन झुआङलोङलाई उद्योग तथा सूचना प्रविधि मन्त्रालय, पान यूलाई राष्ट्रिय जातीय मामिला आयोगको प्रमुख, वाङ जियाओहोंगलाई सार्वजनिक सुरक्षा मन्त्रालय, चेन यिक्सिनलाई राज्य सुरक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यस्तै, ताङ देङजी नागरिक मामिलामन्त्री र हे रोङ न्यायमन्त्री चयन भएका छन्।

लियू कुनले वित्त मन्त्रालयको जिम्मेवारी पाउँदा वाङ सियाओपिङलाई मानव संसाधन तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ। वांग गुआङहुआ प्राकृतिक संसाधनमन्त्री हुनेछन्।

हुआङ रुन्किउ पारिस्थितिकी तथा पर्यावरणमन्त्री, नी होङ आवास र शहरी–ग्रामीण विकासमन्त्री, ली जियाओपेङ परिवहनमन्त्री चयन भएका छन्। ली गुओयिङ जल संसाधनमन्त्री ताङ रेन्जियान कृषि तथा ग्रामीण मामिलामन्त्री, वांङ वेन्ताओ वाणिज्यमन्त्री, हु हपिङ संस्कृति तथा पर्यटनमन्त्रीको रुपमा चयन भएका छन्।

मा जियाओवेई राष्ट्रिय स्वास्थ्य आयोगका प्रमुख, पेई जिंजिया निवृत्ति मामिलामन्त्री, वाङ सियाङ्सी, आपतकालीन व्यवस्थापनमन्त्री निर्वाचित भएका छन्।

त्यस्तै, यी ग्याङ पिपुल्स बैंक अफ चाइनाका गभर्नरमा चयन हुँदा होउ काईलाई राष्ट्रिय लेखा परीक्षण कार्यालयको महालेखा परीक्षकमा निर्वाचित भएका छन्।

त्यस्तै, एनपीसीको जारी सत्रले शनिवार मात्र राष्ट्रिय पर्यवेक्षण आयोगको अध्यक्षमा लिउ चिनक्वो, सर्वोच्च जनअदालतको अध्यक्षमा झाङ चुन र सर्वोच्च जन न्यायाधिवक्तातामा यिन योङलाई निर्वाचित गरेको थियो।

शनिवार निर्वाचित भएका प्रधानमन्त्री लि छियाङको प्रस्तावमा एनपीसीले उनीहरुको नामलाई अनुमोदन गरेको हो।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट