Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

रुस एक्ल्याउने पश्चिमा देशहरूको प्रयास असफल भएको रुसी विदेशमन्त्रीको भनाइ


काठमाडौं । रुसका विदेशमन्त्री सर्गेइ लभरोभले रुसलाई एक्लो पार्ने पश्चिमा देशहरूको प्रयास असफल भएको र विश्वका अधिकांश मुलुक अझै पनि रुसी सरकारसँग राम्रो सम्बन्ध कायम राख्न इच्छुक रहेको बताएका छन् ।

पूर्व औपनिवेशिक शक्तिहरूले यसलाई मन पराए वा नपराए विश्वको बहुध्रवीय प्रवृत्ति अपरिवर्तनीय भएको लभरोभले बताए ।

शनिबार बहुध्रुवीयतासम्बन्धी विश्व अनलाइन सम्मेलनलाई सम्बोधन गर्दै लाभरोभले भने, “अमेरिकी सरकार र यसका सहयोगीहरूले इतिहासलाई उल्ट्याउन खोज्ने प्रयास र अन्तर्राष्ट्रिय समुदायलाई जबरजस्ती बाँच्न बाध्य पार्ने प्रयास असफल सावित भएको बताए । विशेषगरी पश्चिमहरू रुसलाई एक्ल्याउन खोज्ने प्रयास पूर्ण असफल भइसकेको उनले जनाए ।

उनका अनुसार विश्वको कुल जनसंख्याको ८५ प्रतिशतले पूर्व औपनिवेशिक शक्तिको हैकम अब नचाल्ने स्पष्ट पारेका छन् ।

करिब हरेक महाद्वीपबाट धेरै दर्जन राष्ट्रका प्रतिनिधिहरूले अनलाइन फोरममा भाग लिएको तथ्यले बहुध्रुवीयताको विचारले कति लोकप्रिय भएको स्पष्ट पार्छ ।

लाभरोभले यूरेसिया, इन्डो–प्यासिफिक क्षेत्र, मध्य पूर्व, अफ्रिका र ल्याटिन अमेरिकामा नयाँ विश्वव्यापी केन्द्रहरू देखा परिरहेको र यी राष्ट्रहरूले राष्ट्रिय हितहरूद्वारा निर्देशित स्वतन्त्र नीतिहरू अपनाइरहेको बताए ।

रुसी परराष्ट्रमन्त्रीका अनुसार विगत तीन दशकयता विश्व अर्थतन्त्रमा विकासोन्मुख राष्ट्रहरूले निरन्तर रूपमा आफ्नो हिस्सा विस्तार गर्दै आएका छन् भने जी सेभेनका देशहरूको भूमिका घट्दै गएको छ ।

उनले ब्रिक्स र सांघाई सहयोग संगठन (एससीओ) जस्ता “नयाँ प्रकारको“ अन्तर्राष्ट्रिय समूहहरूमा सामेल हुन धेरै भन्दा धेरै देशहरूले चासो देखाएका तथ्यको पनि प्रशंसा गरे।

राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सरकारले केही देशहरूद्वारा आविष्कार गरी लागू गरेको तथाकथित नियमहरूलाई पालना नगर्ने शुक्रबार बताएका थिए ।

एससीओका सदस्यहरूलाई सम्बोधन गर्दै रक्षामन्त्री सर्गेई शोइगुले पश्चिमले स्वतन्त्र देशहरूलाई रूस र चीनको विरुद्ध खडा गर्न र बहुध्रुवीय विश्वको उदयलाई कमजोर पार्न अभूतपूर्व दबाब दिइरहेको शुक्रबार बताएका थिए ।

सोमबार लाभरोभले संयुक्त राष्ट्र सुरक्षा परिषदमा एसियाली, अफ्रिकी र ल्याटिन अमेरिकी प्रतिनिधित्वको विस्तारको लागि आह्वान गरे ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट