Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

विराटनगरमा नयाँ प्रजातिको माछा भेटियो


विराटनगर, २६ चैत । सिंघिया नदीमा नयाँ प्रजातिको माछा भेटिएको छ। विराटनगरको पूर्वी सीमा भएर बग्न सिंघिया नदीमा भेटिएको उक्त माछा नेपालमै पहिलो पटक भेटिएको अनुसन्धाताको दाबी छ। गत मंसिरदेखि असोजसम्म झापा र मोरङका पाँचवटा नदीमा खोज अनुसन्धानका क्रममा नयाँ प्रजातिको माछा पञ्जीकरण गरिएको थियो। सोही क्रममा भेटिएको उक्ता नयाँ माछाको नाम ‘एमब्लिसेप्स वाइखोमी’ रहेको छ।

विराटनगरकै अनुसन्धाताहरू जसहाङ लिम्बू, दीपक राजवंशी, भरतराज सुब्बा, अस्मित सुब्बा तथा विदेशीहरू जीनक्वान याङ र चेनहोङ लीको समूहले उक्त माछा विराटनगरको तल्लो भाग जहदापुल र बुधनगर गरी दुईवटा अध्ययन विन्दुमा रेकर्ड गरेका थिए।

उक्त अनुसन्धान टोलीले पत्ता लगाएको माछा नेपालका लागि नयाँ रेकर्ड भन्दै अमेरिकाबाट प्रकाशित हुने इन्टरनेशनल जर्नल अफ जुलोजीमा २०२३ को भोल्युममा अप्रिल महिनामा प्रकाशित भएको छ। एमब्लिसेप्स वाइखोमी प्रजातिको माछा दक्षिण एशियातिर मात्रै पाइने तर बिरलै भेटिने गरेको अनुसन्धाताको भनाइ छ।

सन् २०१६ मा मात्रै भारतमा पनि ब्रह्मपुत्रनदीको सहायक नदीमा अरुणाचल प्रदेशमा पहिलोपटक रेकर्ड गरिएको थियो। यो माछाको संख्या निकै कम भएकाले धेरै विवरण नपाइने अनुसन्धाताको भनाइ छ। उनीहरूका अनुसार सिंघिया नदीमा पनि पाँच दशवटा मात्र भेटिएको थियो।

निकै सानो आकारको उक्ता माछाको लम्बाइ चारदेखि नौ सेन्टिमिटर र ३० ग्रामभन्दा कम तौल हुन्छ। तौलको सन्दर्भमा अध्ययन भए पनि यसका आनीबानी, आहारविहार, प्रजनन आदिको विषयमा भने अध्ययन भएको छैन। अनुसन्धाताका अनुसार यसबाट मानिसले के कति फाइदा लिन सक्छ भन्ने पनि यकिन भएको छैन।

सिंघिया नदीको पानीमा भौतिक तथा रासायनिक विशेषताहरु समेत अनुसन्धानका क्रममा परीक्षण गरिएकाले कस्तो जलीय वातावरणमा बस्दो रहेछ भन्ने खुलेको छ। हाल चीनमा माछाकै विषयमा विद्यावारिधि गरिरहेका प्रमुख अनुसन्धाता लिम्बूले सिंघिया नदीका जलचर अनुसन्धानका क्रममा नयाँ किसिमको माछा भेटिएको र यसका बाहिरी बनावट र पखेटा (फिन) हरूको नाप जाँच गरेको बताए।

उनले भने, ‘अरू प्रजातिसँग तुलना गर्यौँ, तब निष्कर्षमा पुग्यौँ कि यो नयाँ प्रजाति नेपालमा पहिलोपटक भेटिएको हो।’ उक्त निष्कर्ष जर्नलमा प्रकाशित भएपछि विश्वका माछा विशेषज्ञहरूको समुदायले सार्वजनिक पुष्टि गरेको ठहर छ।एमब्लिसेप्स जातिका जम्मा २६ वटा प्रजाति संसारमा रहेको अघिल्लो वर्षमात्रै यसको २६ औँ प्रजाति अरू कुनै देशमा पत्ता लागेको थियो। नेपालका लागि अहिले पत्ता लागेको यो नयाँ प्रजातिसँगै अब २७० प्रजातिका माछा भए।

मोरङ जिल्लामा पाइने ११८ प्रजातिमध्ये सिंघिया नदीमा ६२ प्रजातिका माछा पाइने लिम्बूले बताए।


क्याटेगोरी : रोचक, कोशी प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट