Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

आफूले सम्हालेको मन्त्रालयमा भ्रष्टाचारको गन्ध आउन नपाएको जीवन आचार्यको दाबी


विराटनगर, २४ जेठ । मन्त्री बनेको पाँच महिना पनि नपुग्दै सरकार छाडेका नेकपा माओवादीका केन्द्रीय सदस्य जीवन आचार्यले आफूले सम्हालेको मन्त्रालयमा भ्रष्टाचारको गन्ध आउन नपाएको दाबी गरेका छन् । उनले कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रीबाट हटेपछि सामाजिक सञ्‍जालमार्फत यस्तो दाबी सार्वजनिक गरेका हुन् ।

आफू पार्टीको निर्णय अनुसार मन्त्री बनेको भन्दै उनले निर्वाचनका क्रममा जनतासँग गरेका वाचा र विकास गर्ने हुटहुटीले आफूसामु गहन जिम्मेवारी र चुनौतीहरू रहेको भन्दै मन्त्री पदमा रहुन्जेल अहोरात्र काम गरेको बताएका हुन् ।
मन्त्री पदको शपथ लिँदै गर्दा नै आफूले भ्रष्टचारमा शून्य सहनशीलता अपनाउँदै पारदर्शी ढंगले काम गर्ने बाचा गरेको बताए । मन्त्री पदमा रहुन्जेल आफ्नो पूर्ण समय मन्त्रालयको काममा लगाउने, अनावश्यक कार्यक्रमभन्दा जनतासँग प्रत्यक्ष जोडिने र योजनाबद्ध रुपमा प्रदेशको विकासका लागि भूमिका निर्वाह गर्ने संकल्प गरेर काम गरेको दाबी गरे ।

‘आज गर्वका साथ शीर ठाडो पारेर भन्न सकिन्छ, मैले नेतृत्व गरेको मन्त्रालयमा भ्रष्टाचारको कुनै पनि गन्ध आएन, आउन पाएन’ उनले भनेका छन्, ‘यसका लागि म मातहतका सचिवालयका साथीहरू, जनसमुदायले प्रकट गर्नुभएको शुभेच्छा र कर्मचारी साथीहरुप्रति धन्यवाद र आभार प्रकट गर्दछु ।’

कर्मचारी प्रशासनप्रति निकै विश्वस्त देखिएका मन्त्री आचार्यले मंगलबार नै माओवादी केन्द्र संसदीय दलको निर्णय अनुसार मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष मन्त्री पदबाट राजीनामा बुझाइसकेका छन् । उनले आफ्नो कार्यकालमा पर्यटन विकासका लागि आयोजनाहरु सम्झौता गर्न मत्रालयमै धाउनुपर्ने बाध्यताको अन्त्य गरेको दाबी गर्दै सम्बन्धित जिल्लामै रहेको वन डिभिजन कार्यालयमार्फत सम्झौता गर्न सकिने व्यवस्था मिलाएको बताएका छन् ।

त्यसैगरी कोशी प्रदेशको ‘वन नियमावली २०८०’ लाई मन्त्री परिषद्‌मार्फत कार्यन्वयन गर्ने चरणमा रहेता पनि राजनीतिक घटनाक्रमका कारण सरकार छाड्नु परेकोले त्यो काम गर्न नसकेप्रति उनले दुखेसो पोखेका छन् ।


क्याटेगोरी : कोशी प्रदेश
ट्याग : #jeeban acharya

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट